काठमाडौं । मध्यपूर्वमा तनाव बढेसँगै खाडी क्षेत्रको हवाई आकाश बन्द भएको छ ।
शनिबार अमेरिका र इजरायले संयुक्त रुपमा इरान माथि आक्रमण गरेका छन् । जवाफमा इरानले कतार, साउदी अरेबिया, यूएई लगायत खाडी देशमा रहेको अमेरिकी सैन्य आधार शिविरहरूमा पनि आक्रमण गरेको छ ।
सोही कारण खाडी क्षेत्रको आकाश असुरक्षित हुँदा अधिकांश एयरलाइन्सहरूले आफ्नो उडान रद्द गरेका हुन् । एयरलाइन्स कम्पनीहरूले खाडी क्षेत्रका मुख्य विमानस्थलहरू दोहा, दुवई, आबुधावी, रियाद, दमाम, तल अबिब, बहराइन, कुवेत लगायतमा हुने उडान रोकेका हुन् ।
कतार एयरवेजले कतारबाट अन्य देशमा जाने र अन्य देशबाट कतार आउने उडानहरू स्थगित गरेको छ । त्यस्तै, साउदी अरबको एयर अरेबिया, यूएईको फ्लाइ दुबई, इमिरेट्सले पनि अस्थायी रूपमा आफ्नो उडान स्थगित गरेका छ ।
ब्रिटिश एयरवेजले बुधबारसम्म तेल अविव र बहराइनमा हुने उडान रोकेको छ ।
त्यस्तै, भारतीय एयरलाइन्स कम्पनीहरू भिस्तार, एयर इण्डिया, इण्डिगो लगायतले पनि खाडी क्षेत्रमा हुने आफ्ना उडान रोकेको छ ।
विज एयरले आगामी शनिबारसम्मका लागि इजरायल, दुबई, आबुधावी, ओमानका सबै उडानहरू स्थगित गरेको गरेको छ।
त्यस्तै, लुफ्टहान्जा, टर्किस एयरलाइन्सले पनि खाडी क्षेत्रमा हुने उडान रद्द गरेका छन् ।

