भेटिएका १८ दुईपाङ्ग्रे सवारी साधन ट्राफिकबाट फिर्ता

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारी साधन खोजी गरी शुक्रबार धनीलाई हस्तान्तरण गरेको छ ।

रामशाहपथस्थित काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच यस कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले १२ वटा मोटरसाइकल र ६ वटा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन् ।

उनले चालु आवमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा हालसम्म प्राप्‍त ८३२ वटा निवेदनको आधारमा खोजी गर्ने क्रममा फेला परेका १७७ मध्ये १३४ ओटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको बताए ।

यस्तै, चालु आर्थिक वर्षमै चोरीका ११ वटा मोटरसाइकलसहित संलग्न १३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाहीका लागि विभिन्न प्रहरी कार्यालयमा पठाइएको समेत उनले जानकारी दिए ।

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि स्वयम् सवारी धनी पनि विशेष चनाखोका साथै सजग हुनुपर्ने, साधन चोरी/हराउनबाट जोगाउन आफ्नो सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान लगायत विभिन्न उपायहरू अवलम्वन गर्न उनले आग्रह गरे ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।


Back_to_top