काठमाडौं । बीवाइडीले आफ्नो प्रिमियम ह्याचव्याक डल्फीन २०२५ मोडेल चीनमा सार्वजनिक गरेको छ । नयाँ डल्फीनले अब पहिलेभन्दा धेरै रेन्ज दिने भएको हो ।
गत फ्रेब्रुअरीमा मात्रै डल्फीनको ग्लोरी एडिसन बजारमा ल्याएको बीवाइडीले छोटो समयमै यसलाई अपडेट गरेको हो । बीवाइडीले पहिला प्रयोग भएको ४४.९ किलोवाट आवरको ब्याट्री प्याकको सट्टा अब ६०.४८ किलोवाट आवरको ब्याट्री प्रयोग गरेको छ । त्यसैले यसको रेन्ज बढेर ५२० किलोमिटर पुगेको सीएटीएलले जनाएको छ । यसअघि सीएटीएल रेन्ज ४२० किलोमिटर थियो ।
अन्तर्राष्ट्रिय बजारमा लगातार लिथियम आयोन ब्याट्रीको मूल्यका गिरावट आएको कारण बीवाइडीले ठूलो साइजको ब्याट्री प्रयोग गरेर पनि मूल्य समान राखेको हो । चीनबाट बिक्री सुरु भएको नयाँ डल्फीन विश्व बजारमा चाँडै जानेछ ।
सन् २०२१ को अगस्टमा लन्च भएको डल्फीन बीवाइडीको ई प्लेटफर्म ३.० मा बनेको ह्याचव्याक कार हो । बीवाइडी डल्फीनको लम्बाई ४१२५ एमएम, चौडाई १७७० एमएम, उचाई १५७० एमएम छ । यसको ह्वीलवेस २७०० एमएम लामो र ग्राउण्ड क्लियरेन्स १७५ एमएम अग्लो छ ।
साथै, बीवाइडीले डल्फीनको ७ लाख यूनिट उत्पादन पुरा गरेको जनाएको छ । डल्फीन बीवाइडीको इन्टरनेशनल मोडल हो । कम्पनीले आफ्नो ८० लाख औं उत्पादनको रुपमा नयाँ डल्फीन बनाएको हो ।
नेपालमा समेत निकै सफल बीवाइडी डल्फीन ४१ लाख १५ हजार मूल्य तोकेर बिक्री हुँदै आएको छ । नेपाल बाहेक पनि बीवाइडीको उपस्थिति रहेका सबै देशमा यसले सफलता पाएको छ । कम्पनीले डल्फीनलाई राइटह्याण्ड र लेफ्टह्याण्ड दुबै ड्राइभ अप्सनमा उपलब्ध गराएको छ ।