काठमाडौं । आगामी सातादेखि वहुप्रतिक्षित २०२६ बेइजिङ अटो शो सुरू हुँदैछ । अप्रिल २४ देखि सुरू हुने उक्त अटो शो १० दिन (मे ३)सम्म संचालन हुनेछ ।
आयोजकले दिएको जानकारी अनुसार अटोशोमा कुल १४५१ सवारी साधन प्रर्दशन गरिने भएको छ । जसमा १८१ वटा पहिलो पटक सार्वजनिक गरिने (प्रिमियर) मोडल रहेका छन् । तीमध्ये ७१ वटा कन्सेप्ट कारहरू रहेका छन् ।
बेइजिङ अटो शोलाई विश्वकै सबैभन्दा ठूलो अटो शो समेत मानिन्छ । यसपटक ‘चाइना इन्टरनेसनल एक्जिबिसन सेन्टर शुनयी न्यू भेन्यू’ र ‘क्यापिटल इन्टरनेसनल एक्जिबिसन कन्भेन्सन सेन्टर’ गरी दुईवटा स्थानमा प्रदर्शनी आयोजना गरिनेछ ।
यसको कुल प्रदर्शनी क्षेत्र ३ लाख ८० हजार वर्गमिटर रहेको छ । जसले विश्वव्यापी अटोमोबाइल उद्योगको विकास र रूपान्तरणलाई नेतृत्व गर्ने मुख्य माध्यमको रूपमा काम गर्नेछ।
अटो शोमा चिनियाँसँगै विश्वका चर्चित ब्राण्डहरुले सहभागिता जनाउने छन् । चीनका घरेलु ब्राण्डहरूले आफ्ना नवीनतम प्रविधि र उत्पादनहरू प्रदर्शन गर्नेछन्। बीवाइडी, एफएडब्लू, जिली, जीडब्लूएम, निओ, एक्सपेङ, ली अटो, साओमी, जिकर, एइटो, लीपमोटर लगायत ब्राण्डले आफ्ना नयाँ ईभी मोडल ल्याउेन छन् । अटो कम्पनीले ल्याउने नयाँ मोडल प्योर इलेक्ट्रीक र रेन्ज एक्सटेन्डेड रहने छन् ।
अन्तर्राष्ट्रिय ब्राण्डहरुमा बीएमडब्लू, मर्सिडीज–बेन्ज, अउडी, फक्सवागेन, फोर्ड, टोयोटा लगायतले सहभागिता जनाउँदै छन् । यद्यपि, सहभागिको सूचमा टेस्लाको नाम उल्लेख गरिएको छैन । जसले अमेरिकी कार निर्माता कम्पनी चीनका ठूला अटो शोहरूमा सहभागी नहुने क्रमलाई निरन्तरता दिने संकेत गर्दछ ।
उक्त अटो शोमा २१ देश र क्षेत्रका प्रमुख प्रविधि कम्पनीहरूले पनि सहभागिता जनाउने छछन् । हुवावे, सीएटीएल, बोस लगायत कम्पनीले यो विशाल अटो शोमा नयाँ उत्पादनहरू ल्याउँदैछन्।
अप्रिल २४ र २५ लाई प्रेस डे घोषणा गरिएको छ । जसमा स्वदेशी र विदेशी संचारकर्मीहरू मात्र सहभागी हुन पाउनेछन्। प्रदर्शनीको अवधिमा २०० भन्दा बढी पत्रकार सम्मेलनहरू आयोजना गरिनेछ।
यस कार्यक्रमका लागि मिडिया दर्ता प्रणाली खुला भइसकेको छ। पत्रकारहरूले अप्रिल २५ सम्म आधिकारिक वेबसाइट मार्फत अनलाइन आवेदन दिनुपर्नेछ।
सर्वसाधारणले अप्रिल २८ देखि मे ३ सम्म बिहान १०ः०० देखि बेलुका ६ः०० बजेसम्म यो विशाल अटो प्रदर्शनीको अवलोकन गर्न सक्नेछन्।


