काठमाडौं । अहिले बजारमा आउने मोटरसाइकलहरु फिचर लोडेड भएर आउन थालेका छन् । कम्पनीहरुले मोटरसाइकलमा दिने कतिपय फिचरहरु प्रयोग नै नहुने पनि पाइन्छ ।
तर, कतिपय समान्य लाग्ने फिचरहरु समेत धेरै उपयोगी हुने गरेको छ । आज भोलि धेरै जसो मोटरसाइकल तथा स्कुटरमा पाइने फिचर साइड स्ट्याण्ड सेन्सर हो । यो फिचरले मोटरसाइकल तथा स्कुटर स्ट्याण्ड बन्द नगरी चलाउन सकिदैन । अझ, भनौ गुडिरहेको स्कुटर वा मोटरसाइकलको स्ट्याण्ड लगायो भने आफै स्टार्ट बन्द हुन्छ ।
आज हामीले साइड स्ट्याण्ड इन्जिन कट फिचरको फाइदहरुको बारेमा चर्चा गर्नेछौं ।
इन्धनको बचत
यो फिचरले गर्दा सवारीसाधनको इन्धन बचत हुन्छ । कही कतै हामीले थोरै समयको लागि मोटरसाइकल रोक्दा स्टार्ट अफ गर्न झण्झट मान्ने गर्छौ, त्यसैले स्टार्टमा नै छाडी दिन्छौ । यसले गर्दा पेट्रोलको खपत बढ्छ । साइड स्ट्याण्ड इन्जिन कट फिचरले मोटरसाइकल रोक्दा स्टार्ट बन्द हुन्छ, जसले इन्धन बचाउँछ ।
दुर्घटनाबाट जोगाउँछ
हामीले रोकी राखेको सवारी साधन पुनः चलाउँदा कतिपय समयमा स्ट्याण्ड बन्द गर्न बिर्सेर मोटरसाइकल चलाइरहेका हुन्छौं । यसले घुम्तीमा मोड्दा साइड स्ट्याण्डमा ठोक्किएर दुर्घटना हुने गर्छ ।
साइड स्ट्याण्ड इन्जिन कट फिचर भएका मोटरसाइकल तथा स्कुटर स्ट्याण्ड बन्द नगरी चलाउन मिल्दैन । त्यसैले स्ट्याण्डकै कारण दुर्घटना हुने सम्भावना रहँदैन ।
ध्वनी प्रदुषण नियन्त्रण
यो फिचरले ध्वनी कम गर्न मद्दत गर्छ । यदि चालकले मोटरसाइकल रोकेर स्ट्याण्ड लगाउँछ भने आफैँ इन्जिन बन्द हुन्छ । यसले गर्दा सामान्य मात्रामा भएतापनि ध्वनि प्रदुषण हुनबाट बचाउँछ ।


