काठमाडौं । नेपालमा पछिल्लो समय इलेक्ट्रीक स्कुटरको माग तीव्र रूपमा बढिरहेको छ । चारपाँग्रे ईभीले रफ्तार लिइरहँदा दुईपाँग्रे ईभी बजार सुस्त थियो ।
तर, पछिल्लो समय मध्यपूर्वको द्धन्द्ध चर्किएसँगै पेट्रोलको मूल्य अस्वभाविक रूपमा बढेपछि उपभोक्ता इलेक्ट्रीक स्कुटरतर्फ आकर्षति हुन थालेका हुन् । अहिले बजारमा स्थापित ब्राण्डको माग उच्च हुँदा डेलभरी पाउन महिना दिनसम्म कुर्नुपर्ने अवस्था छ ।
नेपाली बजारमा ३ दर्जन बढी ब्राण्डका इलेक्ट्रीक स्कुटर उपलब्ध छन् । संख्याका आधारमा चिनियाँ ब्राण्ड धेरै छन् । तर, बजारमा बिक्रीको आधारमा भारतीय ब्राण्ड अघि देखिन्छन् । तुलनात्मक रूपमा सहजै पार्ट्सपूर्जा र सर्भिस पाउने, लिगेसी ब्राण्ड, धेरै रेन्ज लगायत भारतीय स्कुटर रोजाइमा परेको देखिन्छ ।
यहाँ हामीले नेपाली बजारमा लोकप्रिय बनिरहेका तीन भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्डको बारेमा चर्चा गरेका छौं ।
एथरको ४५० सिरिज र रिज्टा
एथरका इलेक्ट्रीक स्कुटर नेपाल उपभोक्ताको पहिलो रोजाइ बनेको देखिन्छ । प्रिमियम इलेक्ट्रीक स्कुटर खोज्नेका लागि एथरको ४५० सिरिज र रिज्टा मोडल आकर्षक विकल्प हो । एथरको रिज्टा मोडल विशेष गरी परिवार र दैनिक प्रयोगकर्तालाई लक्षित गरेर निर्माण भएको मोडल हो भने ४५० सिरिज अलि स्पोर्टीयर छ ।

एथर ४५० एसमा २.९ किलोवाट आवरको ब्याट्री प्याक छ । एथर एक्स भने दुई ब्याट्री अप्सनमा पाइन्छ । जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको ब्याट्री छ । एथरको रिज्टा एसमा २.९ र जेडमा ३.९ किलोवाट आवरको ब्याट्री रहेको छ । त्यस्तै रिज्टामा ४.३ किलोवाट र ४५० सिरिजमा ५.४ किलोवाटको मोटर जडान गरिएको छ ।
रिज्टामा आरामदायक राइडिङ पोजिसन, ठूलो सिट र पर्याप्त स्टोरेज स्पेस दिइएको छ । त्यसैले यो फ्यामिलियर मोडल हो । सोलो राइड गर्नेलाई भने ४५० मोडल उपयुक्त हुन्छ ।
एथरका यी स्कुटरले एकपटकको फुलचार्जबाट ब्याट्री अप्सन अनुसार १२० किलोमिटर देखि १६० किलोमिटरसम्मको रेन्ज दिन्छ । स्कुटरमा स्मार्ट ड्यासबोर्ड, कनेक्टेड टेक्नोलोजी, फास्ट चार्जिङ, ट्र्याक्सन कन्ट्रोल, नेभिगेसन जस्ता आधुनिक फिचर छन् ।
राइड क्वालिटी र टेक्नोलोजीको हिसाबले एथर रिज्टा अहिले धेरैको नजरमा परेको मोडल हो । वैद्यज् इनर्जीले एथरको रिज्टाको सुरूआती मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र ४५० को ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेको छ ।
टीभीएस आइक्युब
भारतीय बजारमा सर्वाधिक रुचाइएको इलेक्ट्रीक स्कुटरमध्ये एक आइक्युब नेपालमा पनि लोकप्रिय बन्दै गएको छ । डिजाइन, विश्वासिलो ब्राण्ड र प्रयोगमैत्री फिचरका कारण यो धेरैको रोजाइमा परेको छ ।

टीभीएस आइक्युब २.२ र ३.५ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा उपलब्ध छ । ४.४ किलोवाटको मोटर रहेको आइक्युबले एकपटक फुलचार्जमा १०० किलोमिटरभन्दा बढीको रेन्ज दिन्छ । टप भेरियन्टमा ठूलो ब्याट्री प्याक, टचस्क्रीन डिस्प्ले, नेभिगेसन, स्मार्टफोन कनेक्टिभिटी र रिभर्स असिस्ट जस्ता फिचर दिइएका छन् ।
सिट स्पेस आरामदायक भएकाले दैनिक अफिस आवतजावतदेखि पारिवारिक प्रयोगसम्म उपयुक्त हुन्छ । नेपालमा टीभीएसको बिक्रेता जगदम्बा मोटर्स हो । कम्पनीले आइक्युबको सुरूआती मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ तोकेको छ ।
बजाज चेतक
क्लासिक डिजाइनलाई आधुनिक ईभी प्रविधिसँग जोडिएको बजाज चेतक पछिल्लो समय नेपाली बजारमा चासोको नयाँ मोडल बनेको छ । यसको सबैभन्दा बलियो पक्ष मेटल बडी र टिकाउपन हो ।
नेपालमा चेतकको ३५०१ एउटा मोडलमात्रै उपलब्ध छ । यसमा ३.५ किलोवाट आवरको ब्याट्री र ९५० वाटको मोटर दिइएको छ । यसले एकपटकको फुलचार्जमा १५० कीमीसम्मको रेन्ज दिन्छ ।
चेतकमा रिजनरेटिभ ब्रेकिङ, डिजिटल डिस्प्ले, स्मार्ट कनेक्टिभिटी, राम्रो बुट स्पेस लगायतका फिचर छन् । टीभीएस र एथर स्कुटरको तुलनामा यसको बिल्ड क्वालिटी अझै बढि प्रिमियम महसुस हुन्छ ।
दैनिक कम्युट स्कुटरका रूपमा चेतकलाई चलाउन सकिन्छ । नेपालमा चेतकको बिक्रेता बजाज नै हो । हंसराज हुलासचन्द एण्ड कम्पनीले चेतकको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
निष्कर्ष : यी तीनै ब्राण्डको ईभी स्कुटरमा आवश्यकता अनुसारको सुविधा र एड्भान्स फिचरहरू पाइन्छ । साथै, राम्रो ब्राण्ड नेटवर्क र कम्पनीहरूले देशभरिनै दिइ रहेको सर्भिस तथा सेवाले धेरै नयाँ प्रयोकर्ताहरूलाई तानिरहेको हो ।
फरक-फरक प्रयोगकर्ता लक्षित यी स्कुटरले रेन्ज, फिचर, परफर्मेन्स र ब्राण्ड विश्वसनीयताको राम्रो संयोजन प्रस्तुत गर्छन् । दैनिक कम्युटका लागि भरपर्दो र व्यावहारिक विकल्प खोज्नेका लागि टीभीएस आइक्युब, प्रिमियम टेक्नोलोजी र स्मार्ट फिचर चाहनेका लागि एथर र क्लासिक डिजाइनसँग टिकाउपन रोज्नेका लागि बजाज चेतक आकर्षक विकल्पका रूपमा देखिएका छन् ।


