टीभीएसको चर्चित इलेक्ट्रीक स्कुटरको बिक्री बन्द

काठमाडौं । भारतीय दुईपाँग्रे उत्पादक टीभीएस मोटरले आफ्नो लोकप्रिय इलेक्ट्रीक स्कुटर आइक्युब लाइनअपको एस भेरियन्टको बिक्री बन्द गरेको छ ।

कम्पनीले आफ्नो आधिकारिक वेबसाइटबाट आइक्युबको एस भेरियन्ट हटाएको हो । आइक्युबको मिडस्पेक एस भेरियन्ट हटेसँगै बजारमा यसको कारणबारे चर्चा सुरू भएको छ । कम्पनीले भने अहिलेसम्म आधिकारिक जानकारी दिएको छैन ।

आइक्युब सिरिजमा बेस मोडल र टप एन्ड एसटीको बीचमा एस भेरियन्ट राखिएको थियो । कम्पनीले सोही मोडललाई हटाएको हो ।

३.५ किलोवाट आवरको ब्याट्रीसहित आउने यो स्कुटरले १४५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने कम्पनीको दाबी थियो । तर पछिल्लो अपडेट अनुसार कम्पनीले यो भेरियन्टलाई अप्रिल २०२६ तिरै गोप्य रूपमा बन्द गरिएको देखिन्छ ।

आइक्युब एस र बेस भेरियन्ट बीच प्रदर्शनको हिसाबले खासै फरक थिएन । दुवैमा समान ४.४ किलोवाटको मोटर, समान रेन्ज र प्रायः उस्तै फिचरहरू उपलब्ध थिए । यद्यपि, एस भेरियन्टमा ठूलो टीएफटी डिस्प्ले र थप प्रिमियम इन्टरफेस दिइएको थियो, जुन बेस मोडलभन्दा थोरैमात्र एड्भान्स थियो । दुई भेरियन्टमा खासै अन्तर नभएकाले कम्पनीले एस भेरियन्ट बन्द गरेर बेस र टपलाईमात्र स्थान दिएको अनुमान लगाउन सकिन्छ ।

मिडिया रिपोर्ट अनुसार एस भेरियन्ट बेस भेरियन्टसँग धेरै समान थियो । तर मूल्य भने फरक थियो । ग्राहकलाई मूल्यको हिसाबले स्कुटरमा भिन्नता देखाउन गाह्रो हुने भएकाले टीभीएसले आफ्नो लाइनअपलाई सरल बनाउन यो कदम चालेको हो । ग्राहकलाई निर्णय गर्न अलमल हुने अवस्थालाई कम्पनीले सहज बनाएको हो ।

अब आइक्युब सिरिजलाई बेस र टप गरि दुई स्पष्ट भागमा विभाजन गरिएको छ । बेस भेरियन्ट विभिन्न ब्याट्री विकल्पसहित बजेट ग्राहकका लागि र टप आइक्युब एसटी भेरियन्ट फुल फिचर र लामो रेन्ज चाहनेका लागि उपलब्ध छ । टप भेरियन्टमा ५.३ किलोवाट आवरको ब्याट्री पाइन्छ ।

इलेक्ट्रीक स्कुटर बजारमा प्रतिस्पर्धा तीव्र बन्दै गइरहेको बेला टीभीएसले आफ्नो पोर्टफोलियोलाई स्पष्ट र सजिलो बनाउने रणनीति अपनाएको देखिन्छ ।

कम्पनीको यस कदमले ग्राहकलाई कन्फ्युजन हटाउँदै सिधै दुई विकल्पमा निर्णय लिन सहज बनाउने अपेक्षा गरिएको छ ।

हाल नेपाली बजारमा पनि टीभीएसको इलेक्ट्रीक मोडल आइक्युबको बेस र एस भेरियन्ट बिक्रीमा छ । नेपालमा एस भेरियन्ट रामै्र मात्रामा बिक्री भइरहेको स्कुटर हो । जगदम्बा मोटर्सले बेस भेरियन्टको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ र एस भेरियन्टको ३ लाख ३९ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।


Back_to_top