काठमाडौं । भोलि (साउन) २६ गतेदेखि सुरू हुने ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ सुरू हुँदैछ । जहाँ सहभागी भएका ५५ ब्राण्डले ४० बढी नयाँ मोडलका सवारी लन्च गर्दैछन् ।
विभिन्न दुईपाँग्रे, चारपाँग्रे र कमर्शियल ब्राण्डले आफ्ना नयाँ मोडल सार्वजनिक गर्ने भएका हुन् । साथै, नाइमा मार्फत नै केही नयाँ ब्राण्ड नेपाल प्रवेश गर्दैछन् ।
नाइमा लन्च हुने ८० प्रतिशत नयाँ मोडल विद्युती कार र स्कुटर/ मोटरसाइकल छन् । नेपालमा ईभीको प्रयोग तीव्र रूपमा बढिरहेकाले अवलोकनकर्ताको आकर्षण पनि ईभी कार नै हुने देखिन्छ । यद्यपि, अझै पनि पेट्रोल कार रुचाउने ग्राहक पनि छन् ।
ईभीको दबादबा बीच नाइमामा लन्च हुने केही पेट्रोल कारले उपभोक्ताको ध्यान तान्न सक्ने सम्भावना देखिन्छ । भारतीय बजारमा यसअघि नै बिक्री सुरू भइसकेका न्यू हुन्डाई भेन्यु, निसान टेकटन र एमजी मेजेस्टर उपभोक्ताको आकर्षण बन्न सक्छन् । जसले ईभीको भीडमा उपभोक्ताको नजर आफूतिर तान्न सक्छन् ।
अल न्यू हुन्डाई भेन्यु
नयाँ पुस्ता लन्च भएसँगै भेन्यु भारतमा सर्वाधिक बिक्री हुने हुन्डाई एसयूभी बन्दै आएको छ । नाइममा नेपालमै एसेम्बल भएको मोडल लन्च हुन लागेको हो । लक्ष्मी मोटर कर्पोरेशनले नेपालमै एसेम्बलिङ गरेको भेन्यू पहिलेको तुलनामा ब्यापक परिमार्जन भएर आउन लागेको हो ।

न्यु जेन भेन्युमा एडास लेभल २, भेरियन्ट अनुसार भेन्यूमा ३६० डिग्री क्यामरा, ड्राइभ मोड, ट्रयाक्सन मोड, विन्डो सनसेड, फ्रन्ट पार्किङ सेन्सर, इलेक्ट्रीक पार्किङ ब्रेक, अटो होल्ड,रिक्लाइनिङ रियर सिट जस्ता फिचर छन् ।
हुन्डाईले टप भेरियन्टमा बोसको ८ स्पीकर दिएको छ । जसले म्युजिकप्रेमीहरूलाई खुसी बनाउन सक्नेछ । ड्यासबोर्डमा १२.३ इन्चका दुई ठूला स्क्रीन उपलब्ध छ । पहिलेको भन्दा धेरै फिजिकल बटनहरूको प्रयोग गरिएको छ ।
अल न्यु हुन्डाई भेन्यु १.२ लिटर कप्पा पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध छ । भेन्यूको पेट्रोल अप्सनमा ५ स्पीड म्यानुअल र टर्बोमा ७ स्पीड डुअलक्लच गियरबक्स दिइएको छ । डिजेल इन्जिनसँग भने ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक गियरबक्स उपलब्ध छ ।
निसान टेकटन
आकर्षक बडी लाइन, मस्कुलर डिजाइन, प्रभावशाली रोड प्रेजेन्स, प्रिमियम फिचरले भएको निसानको नयँँ एसयूभी अटो शोमा आकर्षण बन्न सक्छ ।

टेकटनको इन्टेरियर आधुनिक फिचरले भरिपूर्ण रहेको छ । यसमा तीन कलर टोनको ड्यासबोर्ड, डिजिटल ड्राइभर डिस्प्ले, टचस्क्रीन इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस एप्पल कारप्ले र एण्डरोइड अटो, वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्टसिट, पानारोमिक सनरुफ लगायत फिचर छ ।
निसानले टेकटनमा आफ्नो स्मार्टफोन एपमार्फत ५५ भन्दा बढी कनेक्टेड कार फिचर उपलब्ध गराएको छ । यसमा रिमोट इन्जिन स्टार्ट, एसी अन गर्ने सुविधा, रिमोट लकरअनलक, रिमोट लाइट तथा हर्न कन्ट्रोल, भेहिकल स्टाटस, फाइन्ड माई कार लगायतका सुविधा समावेस छन् ।
निसान टेकटन १.० लिटर र १.३ लिटर टर्बो पेट्रोल इन्जिन विकल्पमा उपलब्ध छ। सानो इन्जिनले १०० पीएस पावर र १६६ एनएम टर्क उत्पादन गर्छ । यसमा ६ स्पिड म्यानुअल गियरबक्स दिइएको छ । कम्पनीका अनुसार यसको माइलेज १९.४ किलोमिटर प्रतिलिटर छ ।
यसमा सुरक्षाका लागि ६ वटा एयरब्याग, एडास लेभल टु, ब्रेक असिस्ट, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, ट्र्याक्सन कन्ट्रोल, टायर प्रेसर मनिटरिङ सिस्टम, फ्रन्ट डिस्क ब्रेक, रोलओभर सेन्सर, हाइ टेन्साइल स्टिल सेफ्टी केज, साइड इम्प्याक्ट प्रोटेक्सन बीम लगायत फिचर उपलब्ध छन् ।
एमजी मेजेस्टर
अल न्यू हुन्डाई भेन्यु र टेकटनको तुलनामा एमजी मेजेस्टर महँगो मूल्यमा आउने छ । तर, यसको शक्तिशाली इन्जिन, आकर्षक डिजाइन र टेक फिचरले कारका शौखिन ग्राहकलाई तान्न सक्छ ।

एमजी मेजेस्टरमा २.० लिटरको ट्विन टर्बोचाज्र्ड डिजेल इन्जिन छ । उक्त इन्जिनले २१५.५ पीएस पावर तथा ४७८.५ न्युटन टर्क उत्पादन गर्छ । यसमा ८ स्पीड अटोमेटिक गियरबक्स दिइएको छ । यसले गत मार्चमै ४०६.४ टन तौल भएको रेल तानेर गिनिज वल्र्ड रेकर्ड समेत बनाएको थियो ।
मेजेस्टर एसयूभी रियर ह्वील र फोर ह्वील दुवै ड्राइभ अप्सनमा उपलब्ध हुनेछ । यसको लम्बाइ ५,०४६ एमएम, चौडाइ २,०१६ एमएम, चौडाइ १८७६ एमएम र २९५० एमएम लामो ह्वीलबेस छ ।
एमजी मेजेस्टर जस्तोसुकै अफरोडमा पनि उत्कृष्ट प्रदर्शन गर्न सक्नेगरी आएको छ । यसमा १० वटा अफरोड मोडहरू सहितको फोर ह्वील ड्राइभ सिस्टम, ट्रिपल डिफरेंशियल लक ९अगाडि, पछाडि र बीच०, क्रल कन्ट्रोल र २१९ एमएम ग्राउण्ड क्लियरेन्स रहेको छ । यसलाई ८१० एमएम गहिरो पानीमा पनि चलाउन सकिन्छ ।
सुरक्षाका लागि मेजेस्टरमा लेभल २ एडास दिइएको छ । यसको क्याबिन पनि निकै फिचर लोडेड छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इन्फर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील दिएको छ ।
थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउण्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिटले यात्रुको लागि यो उत्कृष्ट मोडल बनाएको छ ।


