काठमाडौं । जनवरी २०२५ को आज अन्तिम दिन । नयाँ वर्षको पहिलो महिनामा दुई कम्पनीका तीन नयाँ मोडल बजारमा बिक्री सुरु भए ।
नयाँ वर्षको पहिलो लन्च ‘दीपल एस-०७ एल’ भयो । बजारमा चल्तीको क्रसओभर एसयूभीको लङ रेन्ज मोडल एमएडब्लू वृद्धिले बिक्री सुरु गरेको हो । यसमा ठूलो ब्याट्री र ठूलो क्षमताको मोटर उपलब्ध छ ।
अर्को नयाँ मोडल जीएसी एवोन-भी हो । चिनियाँ ब्राण्ड जीएसीको कम्प्याक्ट एसयूभी सीजी मोटर्सले बिक्री सुरु गरेको हो । सीजी मोटर्सले एवोन-भीको दुई भेरियन्ट उपलब्ध गराएको छ । सर्ट र लङ रेन्जगरी दुई भेरियन्टमा उपलब्ध एवोन-भीमा मोटर भने एउटै ९९ किलाेवाट साइजकाे छ ।
विश्वकै पहिलो ट्रान्सफर्मर एसयूभी भनेर चर्चा कमाएको दीपल ई-०७ नेपाली बजारमा सार्वजनिक भयो । एमएडब्लू वृद्धिले नेपाल ल्याएको ई-०७ ठूलो ब्याट्री, पावरफुल मोटर र पीकअपमा पनि कन्भर्ट गर्न सकिने एसयूभी भएको कारण चासो र चर्चा धेरै पाउन सफल मोडल हो ।

मूल्य ६५ लाखदेखि २ करोडसम्म
जनवरी महिनामा बिक्री सुरु भएका तीन वटै मोडल तुलनात्मक रुपमा महंगा छन् । विद्युतीय साधनको बिक्री बढेसँगै कम मूल्यमा आकर्षक गाडी खरिद गर्न पाउने अवस्था सृजना भएको छ ।
यो महिना बिक्री सुरु भएका मोडलमा सबैभन्दा कम मूल्यको जीएसी एवोन-भी हो । यसको सर्ट रेन्ज भर्सन ६४ लाख ९९ हजार र लङ रेन्ज भर्सन ६९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको हो । यसमा ६२ किलोवाट आवर र ७५ किलोवाट आवरका दुई ब्याट्री अप्सन पाउन सकिन्छ ।

त्यस्तै दीपल ‘एस-०७ एल’को मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको हो । यसमा ७९ किलोवाट आवरको ब्याट्री र १६० किलोवाट क्षमताको मोटर पाउन सकिन्छ ।
सबैभन्दा महंगो मूल्य दीपल ई-०७ को तोकिएको छ । यसलाई कम्पनीले दुई ड्राइभिङ सिस्टमको साथ बजारमा ल्याएको हो । रियर ह्वील ड्राइभ मोटर भएको ई-०७ को मूल्य ९९ लाख ९९ हजार र अल ह्वील ड्राइभ मोटर भएको भर्सनलाई १ करोड ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।
रियर ह्वील ड्राइभमा १९० किलोवाटको मोटर छ भने ८९.९८ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । अलह्वील ड्राइभमा ४४० किलोवाट क्षमताको मोटर रहेको छ । ब्याट्री भने दुबैमा समान साइजको पाउन सकिन्छ ।


