काठमाडौं । लीपमोटरको पछिल्लो क्रसओभर एसयूभी नेपाली बजारमा बुकिङ चलिरहेको छ । कम्पनीले दशैं अगाडि नै डेलिभरी दिने योजनासहित बी-१० एसयूभी ल्याइरहेको जनाएको छ ।
कम्पनी स्रोतका अनुसार केही दिन भित्रै बी-१० एसयूभी बुकिङ गरेर बसेका ग्राहकलाई हस्तान्णतरण हुनेछ । कम्पनीले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा यसलाई सार्वजनिक गरेको थियो ।
साँग्रिला मोटर्स आधिकारिक बिक्रेता रहेको लीपमोटर एक वर्ष अगाडि नेपाली बजारमा प्रवेश गरेको हो । युरोपियन अटोमोबाइल जाइन्ट स्टेलान्टिस ग्रुपले लगानी गरेसँगै लीपमोटर नेपाल आएको थियो ।
यसअघि स्टेलान्टीस ग्रुपकै प्यूजो र सिट्रोन ब्राण्डका गाडी बेच्दै आएको साँग्रिला मोटर्सले बी-१० क्रसओभर एसयूभीलाई दुई भेरियन्टमा बजारमा ल्याएको छ ।

मूल्यका हिसाबले ४९ लाख ९९ हजार र ५६ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ चलिरहेको बी-१० मा रहेका सबल र कमजोर पक्षका विषयमा यहाँ चर्चा गरिएको छ ।
सबल पक्ष
१. साँग्रिला मोटर्सले सी-१० एसयूभी जस्तै बी-१० एसयूभीलाई पनि पावरफुल मोटरमा ल्याएको छ । नेपालमा मोटर पावर अनुसार कर निर्धारण भएको कारण धेरैले मोटर पावर कन्ट्रोल गरेर गाडी ल्याएपनि लीपमोटरले १६० किलोवाट कै मोटरमा बी-१० एसयूभी उपलब्ध गराएको छ । जबकि यसको मुख्य प्रतिस्पर्धी मानिएको दीपल एस-०५ को पावर घटाएर ९९ किलोवाट बनाएर ल्याइएको छ ।

२. आधुनिक फिचरको लामो लिस्ट उपलब्ध बी-१० एसयूभीमा एडास लेभल टु उपलब्ध छ । लाइडार, स्न्यापड्रागनको चीप, ३६० डिग्री क्यामेरा, एम्बियन्ट लाइट, १२ स्पीकरसहितको अडियो सिस्टम यसमा पाउन सकिन्छ ।
३. सेग्मेन्टकै सबैभन्दा ठूलो ब्याट्रीमा उपलब्ध बी-१० क्रसओभर एसयूभीमा दुई ब्याट्री अप्सन उपलब्ध छ । यसमा ५७ र ६७ किलोवाट आवरका दुई ब्याट्री छन् । जसको रेन्ज ४६० किलोमिटरसम्म छ । साथै, यसमा रहेको ब्याट्रीलाई २० मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

४. निकै आकर्षक डिजाइन यसको अर्को बलियो पक्ष हो । सेग्मेन्टकै ठूलो सनरुफ, लेदर सिट, हिटिङ र भ्यान्टिलेटेड सुविधा यसमा पाउन सकिन्छ । फ्लस पप-आउट डोर ह्याण्डल, १८ इन्चको अलोय ह्वील र मिनिमल डिजाइनले यसलाई फरक क्लासको देखाउँछ ।
५. उच्च ग्राउण्ड क्लियरेन्स, रियर ह्वील ड्राइभ, युरो क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ, पूरै स्टील र आल्मुनियम बढी यसको बलियो पक्ष हो । यसका अलवा ४२० लिटरको बुट स्पेस, कस्टुमाइज गर्न मिल्ने ड्यासबोर्डले प्रयोगकर्तालाई फरक अनुभव प्रदान गर्छ ।

कमजोरी के ?
सेग्मेन्टमा निकै कुरामा अब्बल बी-१० को ड्यासबोर्ड हाडटफ मेटेरियरलले बनेको छ । आजकल कम मूल्यका गाडीमा पनि सफ्टटप मेटेरियल पाइने हुँदा यसमा त्यो कमी लाग्छ ।
पछाडि वाइपर दिइएको भए राम्रो हुन्थ्यो । अगाडि एयर भेन्टमा एक्टीभ एयर फ्ल्यापको कमी महसुस हुन्छ ।

