सिद्धबाबा सुरुङमार्गमा उपकरण जडानको तयारी, चालु वर्ष भित्र गाडी गुड्ने

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।

२०८१ माघ ११ गते ब्रेक थ्रु भएको उक्त सुरुङमार्गको भुइँ ढलान (इन्भर्ट) र लाइनिङ (दायाँबायाँ प्लाष्टर) गर्ने काम पनि सकिएको हो ।

सिद्धबाबा सुरुङमार्ग योजना प्रमुख कृष्णराज अधिकारीले मुख्य सुरुङको भित्र लाइनिङ र इन्भर्ट सकिएको जानकारी दिए । अब सुुरुङमार्ग भित्र उपकरण जडान गर्ने तयारी भइरहेको उनले बताए ।

‘सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ । मुख्य सुरुङ भित्र लाइनिङ र इन्भर्टको काम पनि सकियो,’ उनले मेरोअटोसँग भने, ‘अब इलेक्ट्रोमेकानिकल फिटिङको काम सुरू हुन्छ ।’

उनका अनुसार सुरुङमार्ग भित्र जडान गरिने भेन्टिलेसन, सञ्चार तथा सुरक्षा उपकरण, लाइट लगायत उपकरणहरू चीनमा निर्माण भएर थर्ड पार्टी परीक्षणको क्रममा रहेका छन् ।

‘सुरुङमार्ग भित्र निर्माणको काम लगभग सकियो । अब उपकरण जडान सुरू हुन्छ । जडान गरिने उपकरण चीनमा बनेर परीक्षण भइरहेका छन् । सम्भवतः एक महिनाभित्र आइपुग्छ होला । त्यसपछि जडान सुरू हुन्छ,’ उनले भने ।

अहिले आयोजना अन्तर्गत बाइपास सुरुङमा लाइनिङ, स्लोप प्रोटेक्सन, नदी नियन्त्रण लगायत काम भइरहेको उनले बताए ।

आयोजना अन्तर्गत तीन वटा बाइपास सुरुङ छन् । बाइपास सुरुङको लम्बाइ १, २ र ३ को क्रमशः १५१, १६१ र १३० मिटर छ । जसमा बाइपास सुरुङ १ मा इन्भर्ट गर्ने काम सकिएको छ भने १२९.७ मिटिर लाइनिङ गरिसकिएको उनले बताए ।

त्यस्तै, बाइपास सुरुङ २ मा इन्भर्ट १५७.८ मिटर सकिएको छ भने ६५.४ मिटर लाइनिङको काम सकिएको छ । बाइपास सुरुङ ३ मा इन्भर्ट १२५ मिटर र लाइनिङ १०९.८ मिटर सम्पन्न भएको उनले बताए ।

त्यस्तै, स्लोप प्रोटेक्सन अन्तर्गत दक्षिण पोर्टलमा २३०० मिटर मध्ये १४९५ मिटर र उत्तरतर्फ ११०० मिटर मध्ये ४९५ मिटर काम सम्पन्न भएको छ । एमआर १ पर्वतपट्टि ४८१ र एमआर २ पर्वतपट्टि १ हजार ४१४ वर्गमिटर कार्य सकिएको आयोजनाले जनाएको छ ।

हालसम्म ९ कल्भर्ट निर्माण गरिएको छ । त्यसमा मुख्य सडक १ अन्तर्गत ५ वटा र मुख्य सडक २ अन्तर्गत ४ वटा रहेका छन् ।

निर्माणाधीन सुरुङमार्गको समग्र भौतिक प्रगति ६१.०१ प्रतिशत र वित्तीय प्रगति ५१.१ प्रतिशत (एड्भान्ससहित) पुगेको उनले जानकारी दिए ।

चालु वर्ष भित्र गाडी गुडाउने लक्ष्य

योजना प्रमुख अधिकारीले चालु आर्थिक् वर्ष भित्रै निर्माण सम्पन्न गरी सुरुङबाट गाडी गुडाउने लक्ष्य राखिएको बताए । ‘अहिले तीव्र गतिमा काम भइरहेको छ । कुनै अवरोध आए भने यस वर्ष भित्रै गाडी गुडाउने लक्ष्य सजिलै भेटाउन सकिन्छ,’ उनले भने ।

उनका अनुसार अहिले सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहे पनि चालु आव भित्रै सबै काम सक्ने लक्ष्य रहेको उनको भनाइ छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका९३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग १११६ मिटर लामो छ । यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ ।

२०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।

यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।

वि.सं. २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको थियो ।

सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ। सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।


Back_to_top