काठमाडौं । भारतमा निर्मित निसान म्याग्नाइट फेसलिफ्ट एसयूभी साउदी अरेबियामा रिकल गरिएको छ । निसान म्याग्नाइट २०२५ एसयूभी ब्रेक सम्बन्धी समस्या देखिएपछि १ हजार ५५२ युनिट रिकल गरिएको हो ।
निसानले सन् २०२५ को सुरुवातमा म्याग्नाइट फेसलिफ्ट सार्वजनिक गर्दा अटो बजारमा निकै चर्चा भएको थियो । कम्पनीले एकैपटक राइट ह्याण्ड ड्राइभ (आरएचडी) र लेफ्ट ह्याण्ड ड्राइभ (एलएचडी) सार्वजनिक गरेको थियो । जसमा साउदी अरब निर्यात गरिएको लेफ्ट ह्याण्ड ड्राइभ म्याग्नाइटमा समस्या आएपछि रिकल गरिएको हो ।
निसानका अनुसार ब्रेक पाइप र हिट शिल्ड बीच पर्याप्त दूरी नहुँदा ब्रेक फ्लुइड चुहिन सक्ने र ब्रेक कार्यक्षमता घट्न सक्ने सम्भावना छ । यसले दुर्घटनाको जोखिम बढाउन सक्ने भएकाले कम्पनीले तत्कालै रिकल गरेको हो ।
कम्पनीले निसानका ग्राहकलाई तत्कालै नजिककै सर्भिस सेन्टरमा गई मर्मत गर्न समेत आग्रह गरेको छ । १ हजार ५५२ युनिटमै निःशुल्क मर्मत सेवा उपलब्ध गराइने बताएको छ ।
भारतमा बिक्री हुने राइट ह्याण्ड ड्राइभ म्याग्नाइटमा भने हालसम्म कुनै समस्या नदेखिएकाले रिकल घोषणा नगरिएको कम्पनीले जनाएको छ ।
भारतमा बिक्री हुने र साउदी अरेबियामा बिक्री हुने निसान म्याग्नाइट प्रायः एउटै भए पनि भारतमा राइट ह्याण्ड ड्राइभ र साउदी अरेबियामा लेफ्ट ह्याण्ड ड्राइभ हुन्छ । चालकको स्थान फरक हुने भएकाले ब्रेक फ्लुइड पाइपको रुटिङ फरक हुन्छ । त्यसैले साउदी अरेबियामा देखिएको समस्या भारतमा रूपमा दोहोरिने सम्भावना नरहेको कम्पनीको भनाइ छ ।

