काठमाडौं । चीनले न्यू इनर्जी भेहिकल बिक्रीमा रेकर्ड बनाएको छ । चीनको राज्य परिषद् सूचना कार्यालयका अनुसार एनईभी बिक्री ४ करोड युनिट नाघेको हो ।
यो संख्या घरेलु बजारमा भएको बिक्री र निर्यात समेतको हो ।
विश्वव्यापी कार्बन न्यूनीकरण लक्ष्यहरूमा योगदान पुर्याउँदै चीन लगातार १० वर्षदेखि विश्वकै सर्वाधिक एनईभी उत्पादक र बिक्रेता बन्दै आएको छ ।
चीनले पछिल्लो ५ वर्षमा मात्रै एनईभी बिक्री १० गुणाले बढाएको छ । सन् २०२० मा लगभग १३ लाख युनिट एनईभी बिक्री गरेको चीनले २०२४ मा १ करोड ३० लाख युनिट एनईभी बेचेको हो ।
गत हप्ता चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयसहित आठ सरकारी निकायहरुले यस वर्ष करिब १ करोड ५५ लाख युनिट एनईभी बिक्री गर्ने लक्ष्य राखेको बताएका थिए । जुन वार्षिक २० प्रतिशतको वृदिर हो ।
चीनले सन् २०२५ मा कुल ३ करोड २३ लाख युनिट गाडी बिक्रीको लक्ष्य राखेको छ । जसमा झण्डै आधा हिस्सा एनईभीको राखेको हो । यस वर्ष चीनले प्रत्येक १०० सवारी साधनमध्ये ४८ एनईभी बिक्री गर्ने लक्ष्य राखेको हो ।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्म चीनको एनईभी बिक्री ९५ लाख ९० हजार युनिट पुगेको छ । यो गत वर्षको तुलनामा ३६.३७ प्रतिशतले बढेको चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सले जनाएको छ ।
चीनमा एनईभीहरूमा ब्याट्री इलेक्ट्रिक सवारी साधन (बीईभी), प्लग इन हाइब्रिड इलेक्ट्रीक सवारी साधन (पीएचईभीक) र फ्युल सेल सवारी समावेस छन् ।

