५१ प्रतिशत अमेरिकी ईभी चढ्न खोज्दै

काठमाडौं । वर्षौंदेखि विद्युतीय सवारी साधनलाई विश्वले भू-राजनीतिको आँखाबाट हेर्दै आएको थियो । तर, अमेरिकी बजारमा भर्खरै एउटा रिसर्च बाहिर आएपछि ईभी भूराजनीति होइन, उमेर समूहको छनोट भन्ने देखिएको हो ।

‘जिरो इमिशन ट्रान्सपोर्ट एशोसिएसन’ र ‘जेनेरेसन १८०’ले गरेको अध्ययनले ३५ वर्ष मुनिका ७५ प्रतिशत अमेरिकीहरू आगामी ५ वर्ष भित्र ईभी किन्न इच्छुक रहेको देखाएको हो । त्यस्तै रिपोर्टले ३५ वर्षदेखि ४९ वर्ष उमेर समूहका ७२ प्रतिशत अमेरिकी ईभी किन्न चाहन्छन् ।

यो सर्वेक्षणका लागि सेभेन लेटर इनसाइडले सन् २०२६ अगस्ट १४ देखि २३ सम्म करिब १ हजार ३०० जनालाई समेटेको जनाएको छ ।

रिपोर्ट सार्वजनिक गर्दै जेनेरेसन १८० का कार्यकारी निर्देशक स्टुअर्ट गार्डनरले नयाँ प्रविधि मूलधार बन्दै जाँदा ४ मध्ये ३ युवा उपभोक्ताको छनोटमा ईभी पर्न थालेको बताए ।

जिरो इमिशन ट्रान्सपोर्ट एशोसिएसनका अनुसन्धान निर्देशक कोरी क्यान्टरले विद्युतीय गाडी अहिलेको मात्र नभइ भविष्यको पनि सवारी बन्ने संकेत मिलेको बताए । उनले भने, ‘अहिल्यै ईभी नभए पनि आगामी ५ वर्ष भित्र किन्छु भन्ने योजना बनाउने भेटिए ।’

जलवायु सप्ताह न्यूयोर्कको पूर्वसन्ध्यामा सार्वजनिक भएको रिपोर्टको स्याम्पल थोरै भए पनि करिब ५१ प्रतिशत अमेरिकी नागरिकाले आगामी ५ वर्ष भित्र ईभी चढ्न चाहेको देखिन्छ ।


Back_to_top