काठमाडौं । आयात प्रतिबन्धलाई निरन्तरता दिदै सरकारले ४ बस्तुको आयात मंसिर मसान्तसम्मको लागि रोकेको छ । आज राजपत्रमा सूचना प्रकाशित गर्दै गाडी, मदिरा, ३ सय डलर माथिका स्मार्ट फोन र १ सय ५० सीसी माथिका मोटरसाइकलको आयात प्रतिबन्धलाई निरन्तरता दिएको हो ।
यसअघि असोज २८ गतेसम्म भन्दै आयात प्रतिबन्ध लगाइएको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्ले प्रतिबन्धलाई निरन्तरता दिने निर्णय गरेको हो । यसले दुई महिनाभन्दा धेरै समयको लागि पेट्रोलियम पदार्थबाट चल्ने गाडी आयात गर्ने बाटो बन्द भएको छ ।
विदेशी मुद्राको सञ्चिति घटेपछि सरकारले बैशाख १४ गतेबाट बिभिन्न १० बस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो । भदौ १५ गते अन्य ६ बस्तुको आयात खुल्ला गर्दै यी ४ वस्तुको आयात रोकेको थियो ।
लामो समयदेखि आयात प्रतिबन्ध लगाएपछि अटोमोवाइल व्यवसायमा रहेका ब्यवसायी समस्यामा परेका छन् । करिब ८ महिनादेखि आयात प्रतिबन्ध लाग्दा शोरुम संचालन, स्टाफ लगायतको खर्च धान्न नसक्ने अवस्था आएको आयातकर्ताहरुले बताउँदै आएका थिए ।

