काठमाडौं । सामान्य कारमा पनि ६ वटा एयरब्याग हुनु पर्ने भारत सरकारको निर्णयसँगै साना गाडीको मूल्यमा ब्यापक वृद्धि हुने भएको छ । यसअघि दुई वटा मात्रै एयरब्याग भएका साना कारमा ६ वटासम्म एयरब्याग लाग्ने भएसँगै मूल्यमा ब्यापक वृद्धि हुने संकेत देखिएको हो ।
भारतमा उत्पादन र नेपालमा विक्री हुँदै आएका साना कारमा दुई वटा मात्रै एयरब्याग रहेका छन् । यी कारमा ६ वटा एयरव्याग लाग्दा त्यसको मूल्य करिब ५० हजार भारतीय रुपैयाँ बढ्ने उत्पादकहरुको भनाई छ । यसरी एकै पटक ५० हजार भारु मूल्य बढ्यो भने नेपालमा त्यसको असर कम्तीमा २ लाख ५० हजार रुपैयाँ पर्छ ।
जनवरीमा भारत सरकारले ८ सिटभन्दा माथिका कारमा अनिर्वाय गर्ने भनेपनि आगामी अक्टोबर १ तारिखदेखि सबै प्यासेन्जर कारमा अनिर्वाय गर्न लागेको हो । त्यसको जानकारी भारतको पारवहन मन्त्रालयले दिएको हो ।
साना कारमा पनि ६ वटा एयरब्याग प्रयोग हुने भएसँगै साना कारको मूल्य निकै बढ्ने छ । तर, अहिले नै ६ वटा एयरव्याग भएका कारको मूल्यमा भने परिवर्तन हुने छैन ।
अहिले नेपाली बजारमा विक्री हुँदै आएका साना कार सेन्ट्रोदेखि स्वीफ्टसम्म र म्याग्नाइटदेखि ब्रेजासम्मको मूल्य निकै बढ्ने छ । त्यसमा पनि निसान, रेनो, मारुती सुजुकी, टाटा र हुन्डाईका अधिकांश कारको मूल्य बढ्ने छ ।

