अंग्रेजी नयाँ वर्ष लगत्तै नेपाल आउँदै ६ नयाँ मोडल

काठमाडौं । नेपालमा मनाइने सबै चाडपर्व सकिएको छ । चाडपर्व लक्षित कारको बिक्री ठिकठाक भए पनि कम्पनीहरूले नयाँ मोडल ल्याउने तयारी भने तीव्र बनाउँदै लगेका छन् ।

अंग्रेजी नयाँ वर्षसँगै उत्पादन वर्ष फेरिएर आउने भएको कारण नोभेम्बर र डिसेम्बरमा गाडी बिक्रेताले खासै नयाँ मोडल मगाउँदैनन् । साथै, आफूसँग भएको स्टक पनि बिक्री गरिसक्ने लक्ष्य राखेर काम गरेका हुन्छन् ।

अहिले विश्वभरका करिब ५६ ब्राण्ड नेपालमा सक्रिय छन् । सबैले एकै पटक धेरै नयाँ मोडल ल्याउँदैनन् । अझ केही ब्राण्डले हल्लाखल्ला नगरी सुटुक्क नयाँ मोडल पनि ल्याउने गरेको पाइन्छ ।

विशेषगरी चीन र भारतमा उत्पादन भएका कारहरू नेपाली बजारमा आउने छन् । सन् २०२६ को उत्पादन नेपाल ल्याउन कम्तीमा फेब्रुअरीको मध्यसम्म लाग्ने छ । त्यो भनेको मागको मध्ययसम्ममा केही नयाँ मोडल आउने पक्का जस्तै छ ।

नयाँ गाडी ल्याउने तयारीमा अहिले बजारमा रहेका हुन्डाई, एमजी, लीपमोटर, दीपल, प्रोटोन र जिली ब्राण्ड छन् । यी ब्राण्डहरूले ल्याउने नयाँ मोडल २०२६ फेब्रुअरीदेखि अप्रिल अन्तिमसम्ममा नेपाल आइसक्ने अनुमान गर्न सकिन्छ ।

नयाँ जेनेरेशन हुन्डाई भेन्यू

सन् २०२६ लागेसँगै पहिलो बजारमा आउने मोडल नयाँ जेनेरेसन भेन्यू हुने अनुमान छ । नयाँ भेन्यू दुई साता अगाडि मात्रै भारतमा बिक्री सुरू भएको छ ।

नयाँ भेन्यूको लम्बाइ पहिलेकै ३९९५ एमएम छ । तर, उचाइ, चौडाइ र ह्वीलबेस भने बढेर आएको छ । हुन्डाईले नयाँ भेन्यूमा इन्जिन भने परिमार्जन गरेको छैन ।

इन्टेरियरमा ड्यासबोर्ड, स्टेरिङ ह्वील, सिट, कलर, स्कृन जस्ता दर्जनौ परिमार्जन भएको भेन्यूमा सस्पेन्सन सेटअप पनि परिमार्जन भएको छ । हुन्डाईको नेपालको लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले फेब्रुअरी २०२६ सम्ममा बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

एमजी फोर

मोरिस ग्यारेजले पहिलेकोभन्दा डिजाइन मै परिवर्तन गरेर ल्याएको एमजी फोर निकै आकर्षक देखिएको छ । एसएआईसी ग्रुपले नयाँ एमजी फोरलाई रेगुलर एलएफपी र सेमी सोलिड स्टेट ब्याट्रीमा उपलब्ध गराएको छ । नेपाल कुन कुन ब्याट्रीमा आउँछ एकिन छैन ।

एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नेपाल ल्याउने एमजी फोर आकर्षक मूल्यको साथ २०२६ मार्च महिनासम्ममा नेपाल आउने अनुमान गरिएको छ । बिक्रेता कम्पनीका अनुसार ह्याचब्याक सेग्मेन्टमा यसले निकै राम्रो गर्नेछ ।

लीपमोटर बी-०५

चिनियाँ स्टार्टअप कम्पनी लीपमोटरको बी-०५ ह्याचव्याक कार पनि नेपाल आउने मोडलमा पर्छ । निकै हट ह्याचको रूपमा चीनमा चर्चा पाइरहेको बी-०५ फिचर लोडेड ह्याचब्याक कार हो ।

साँग्रिला मोटर्सले आधिकारिक रूपमा बिक्री गर्ने लीपमोटरको पहिलो ह्याचब्याक कार पनि आगामी मार्च महिनासम्म नेपाल आइपुग्ने अनुमान गरिएको छ । चिनियाँ कार निर्माताले यसअघिका सी-१० र बी-१० एसयूभी युरोपमा भन्दा पहिला नेपालमा लन्च गरेको थियो । त्यसैलाई आधार बनाउँदा पनि बी-०५ मार्चसम्म नेपाल आइसक्नेछ ।

दीपल एस-०३

दीपलले नेपाल ल्याएको दुई मोडलले निरन्तर सफलता पाएको कारण तेस्रो मोडलको रूपमा एस–०३ एसयूभी पनि नेपाल ल्याउने भएको छ । दीपल एस-०३ अहिले चीनमा पनि बिक्री सुरू भएको छैन । तर, आगामी मार्चसम्ममा टेस्टीङ भेहिकल आइपुग्ने आधिकारिक बिक्रेता एमएडब्लू वृद्धिले जनाएको छ ।

कम्पनीले ल्याउने एस-०३ मूल्यको हिसाबले इन्ट्री मोडल एसयूभी हुनेछ । तर, यसमा फिचर भने पुरै लग्जरी मोडलमा उपलब्ध नै पाउन सकिन्छ ।

प्रोटोन इमास फाइभ र जिली ईएक्स टु

प्रोटोनको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले प्रोटोन इमास फाइभ नेपाल ल्याउने तयारी तीव्र बनाएको छ । चिनियाँ कम्पनी जिलीले उत्पादन गरेको ह्याचब्याक मोडल प्रोटोनको ब्याचमा नेपाल आउने हो ।

जिलीको ईएक्स टु पनि प्रोटोन इमास फाइभकै फिचरमा उपलब्ध हुनेछ । प्रोटोनका गाडी अहिले एलआरआर ग्रुपले नेपाल ल्याइरहेको छ । यी दुबै गाडी एउटै भएको कारण मोटर र ब्याट्री पनि उत्रै पाउन सकिन्छ ।


Back_to_top