गोवा । हुन्डाई मोटर्स इन्डियाले सेकेण्ड जेनेरशन भेन्यू नोभेम्बर ४ देखि भारतमा बुकिङ खुला गरेको थियो । बुकिङ खुलाएसँगै नोभेम्बर ५ देखि यसको मिडिया ड्राइभ भारतको पर्यटकीय राज्य गोवामा सुरू भयो ।
सुरूमा भारतका संचारकर्मीहरूलाई यसको टेस्ट ड्राइभ गराइएको थियो । हुन्डाई मोटर्स इन्डियाको ठूलो टिमसहित गोवामा पत्रकारहरूले मिडिया ड्राइभ गरेका थिए । यहि क्रममा नेपालबाट पनि थुप्रै मिडियाकर्मी साथीहरू सहभागी थिए ।
हुन्डाईको आधिकारिक बिक्रेता तथा नेपालमै एसेम्बल समेत गर्ने लक्ष्मी ग्रुपको नेतृत्वमा २३ जनाको टोली टेस्ट ड्राइभको लागि भारतको गोवा पुगेको थियो । मिडियामा समाचारको रूपमा भारतमा बुकिङ खुला हुने बित्तिकै देखिएको भेन्यूलाई त्यसको ६ दिनपछि चलाउने अवसर मिल्यो ।
नेपालमा हुन्डाईको भेन्यू सफल मोडल मान्नु पर्छ । सन् २०१९ मा पहिलो पटक लन्च भएको भेन्यू विगत ६ वर्षमा ३ हजार युनिट बिक्री पूरा भएको लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले जनाएको छ ।

पहिलो जेनेरेशननै सफल भएपछि, त्यसको नयाँ जेनेरेशन मोडल कस्तो होला भन्ने कौतुहलता हुनु स्वभाविक थियो । त्यसमा पनि धेरै नयाँ फिचरको साथ आएको भनेपछि थप जान्ने र आफैँ चलाएर हेर्ने चाहना हुनु स्वभाविक नै थियो ।
गोवाको समुन्द्री किनार होस् वा पोर्चुगिज कोलोनी या गोवा औद्योगिक क्षेत्र सबै स्थानमा करिब १०० किलोमिटर चलाएर हेरियो । खासगरी, नयाँ भेन्यू पहिलेको तुलनामा धेरै फरक छ । तर, पनि मुख्य रूपमा ठूलो फरक महशुस गर्ने विषय निम्न अनुसार छन् ।
सस्पेन्स
गाडी कत्तिको आरामदायी छ भन्ने कुरा धेरै हदसम्म सस्पेन्सनमा भर पर्छ । हुन्डाईले भेन्यूको नयाँ जेनेरेशनमा व्यापक सुधार गरेको छ । खाल्डाखुल्डी र केही कच्ची बाटोमा निकै स्मुद लाग्ने सस्पेन्स नयाँ भेन्यूमा पाउन सकिन्छ ।

नयाँ जेनेरेशन भेन्यूको अगाडि कोइल स्प्रिङ भएको म्याकफर्सन स्ट्रट र पछाडि कोइल स्प्रिङसँग जोडिएको टोर्सन बीम एक्सल सस्पेन्स प्रयोग भएको छ । यसको स्मुद पन गाडी चलाउँदा सुरुमै अनुभव हुन्छ ।
स्टेरिङ
हुन्डाईले नयाँ भेन्यूमा नयाँ डिजाइनको स्टेरिङ दिएको छ । थ्री स्पोक ‘डि-कट’ स्टेरिङ निकै आकर्षक छ । गाडीको टर्निङ रेडियस पनि पहिलेको तुलनामा राम्रो लाग्छ ।
स्टेरिङको पछाडि दिइएको प्याडल सिफ्टरले चालकलाई हाइवेमा ड्राइभिङ गर्दा थप रोमाञ्चक बनाउने छ । स्टेरिङबाट हुन्डाईको लोगो हटाएर चारवटा थोप्ला भएको ‘मस्कट’ प्रयोग गरिएको छ ।
ड्यासबोर्डमा परिवर्तन
हुन्डाईको ‘एच’ आकार तपाईले ड्यासबोर्डमा पाउनु हुन्छ । ड्यासबोर्डमा दिइएको एसी भेन्टहरू र सेन्टर जोड्न एच आकार प्रयोग गरिएको छ ।

टप भेरियन्टमा दिइएको एम्बियन्ट लाइट, मोर्डन डिजाइन अनुभव गराउने गियर नब र १२.३ इन्चको दुई स्क्रीन जोडिएर बनेको फुल प्यानारोमिक डिस्प्ले निकै आकर्षक छ । समग्रमा सिटहरूको बनोट पनि निकै आरामदायी लाग्छ ।
टेक फिचर
खासगरी १.० लिटर टर्बो इन्जिन भएको भेरियन्ट टेस्ट ड्राइभ गर्दा ईभी चलाएकै भान हुन्छ । त्यसमा यसअघि नभएको एडास फिचर थियो । ‘एडास लेभल टु’को प्रयोगले गाडीले धेरै विषय जानकारी गराउने नै भयो ।
एडास भित्र लेन फलोइङ एसिस्ट, लेन किप एसिस्ट, लेन डिपार्चर वार्निङ, फरवार्ड कोलिजन अभोइडेन्स एसिस्ट, स्मार्ट क्रुजकन्ट्रोल, हाइबिम एसिस्ट, लिडिङ भेहिकल डिपार्चर अलर्ट लगायतका १६ फिचर छन् ।
सुरक्षा फिचर
अटो होल्ड, ट्रयाक्सन कन्ट्रोल, फ्रन्ट पार्किङ सेन्सर, ६ एयरब्याग, सबै चक्कामा डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, भेहिकल स्टेबिलिटी मेनेजमेन्ट सिस्टम जस्ता फिचरको कारण सुरक्षामा पनि भेन्यू निकै अब्बल भएको पाइयो ।

यस बाहेक ३६० डिग्री क्यामेराले पनि गाडी चलाउन निकै ठूलो सहयोग गर्नेछ ।
ड्राइभ मोड र ट्रयाक्सन कन्ट्रोल
हुन्डाईले नयाँ जेनेरेशन भेन्यूमा ट्रयाक्सन कन्ट्रोल उपलब्ध छ । जसको सहयोगले स्यान्ड, मड र स्नो मोड पाउन सकिन्छ ।
ईभीमा जस्तै ड्राइभिङ मोड पनि भेन्यूमा उपलब्ध हुनेछ । यसमा कम्पनीले ईभीकै जस्तो ईको, नर्मल र स्पोर्टस् मोड दिएको छ । सडकको अवस्था अनुसार मोड छानेर चलाउँदा फरक किसिमको ‘ड्राइभिङ फन’ पाउन सकिन्छ ।
अन्तिममा,
गोवाका विभिन्न किसिमका सडकमा १०० किलोमिटर नयाँ जेनेरेसन भेन्यू चलाएपछि नेपालमा यसको सम्भावनाको विषयमा केही लेख्नै पर्ने देखियो । पेट्रोल एसयूभी खोज्नेको लागि निकै उत्तम विकल्पको रूपमा भेन्यू आउँदैछ ।

हुन्डाईको निकै परिस्कृत १.२ लिटर पेट्रोल, १.० लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन निकै किफायती छ । यसअघि पछाडिको लेगरुप केही कम लाग्नेले पनि नयाँ भेन्यूमा प्रशस्त स्पेस पाउने छन् ।
बाहिरी डिजाइनमा व्यापक परिमार्जन हुनु, ह्वीलबेस, चौडाइ र उचाइ बढाएको कारण गाडी पहिलेभन्दा ठूलो लाग्छ । नेपालमा कुन कुन भेरियन्ट आउँछ र कति मूल्यमा आउँछ भन्ने विषयले पनि धेरै महत्व राख्छ । यी सबै कुरा थाहापाउन भने सन् २०२६ को पहिलो त्रैमाससम्म कुर्नुपर्ने हुन्छ ।


