लापसे गरी चलाउँछन् पठाओ, ६ चालक पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले लागू पदार्थ सेवन (लापसे) गरी सार्वजनिक सवारी साधन चलाउने ६ जना चालकलाई नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरीले मंगलबार काठमाडौंको सुकेधारामा गरेको नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार नियन्त्रणमा लिएकाहरूमा पठाओ मोटरसाइकल चालकहरू झापाको अर्जुनधारा नगरपालिका-६ का ३९ वर्षीय शेखर नाथ घिमिरे, बाराको पचरौता नगरपालिका-६ का ३३ वर्षीय साजिद अन्सारी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार रहेका छन् ।

यसैगरी, नियन्त्रणमा आउने अन्य चालकहरूमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-३ का ४७ वर्षीय सुरज कुमार बजगाईँ, भाडाको बस चालक मकवानपुरको थाहा नगरपालिका-४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेको उनले जानकारी दिए ।

उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको प्रवक्ता सुवेदीले जानकारी दिए ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधन चलाउने चालकले नै लागू पदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम विपरित तथा दण्डनीय कार्य भएको ट्राफिक प्रहरीले जनाएको छ ।

लापसे गरी चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जीवन समेत जोखिममा पर्ने हुनाले आफु सवार सवारी साधनका चालकले लागू पदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर ट्राफिक प्रहरीले अनुरोध समेत गरेको छ ।

 


Back_to_top