काठमाडौं । खेलकुद क्षेत्रमा क्रिकेट मार्फत नेपालले निकै ठूलो फड्को मारेको छ । लगातार विश्वकप यात्रा, संसारको जुनसुकै कुनामा पनि भेटिने डाइहार्ड फ्यान नेपाली क्रिकेटको ठूलो उपलब्धि हो । अहिले क्रिकेटले नै नेपाली खेलकुदको बिँडो थामेको छ भन्दा फरक पर्दैन ।
त्यसैले नेपालमा बिक्री हुने बहुर्राष्ट्रिय कम्पनीका उत्पादनमा हाम्रा क्रिकेट खेलाडीहरू एकपछि अर्को जोडिँदैछन् । विशेषगरी नेपाल प्रिमियर लिगको सुरुवातसँगै धेरै खेलाडीहरूमा गाडी बिक्रेताहरूले नजर लगाएका छन् ।
अहिले नै बजारमा केही ब्राण्डले ब्राण्ड एम्बास्डरको रूपमा क्रिकेटरहरूलाई अनुवन्धन गरेर आफ्नो व्यवसाय प्रवद्र्धनको काम थालिसकेका छन् । यसमा सबैभन्दा अगाडि आउने ब्राण्ड दीपल हो ।
चांगानको न्यू इनर्जी ब्राण्ड दीपलले पारस खड्कालाई आफ्नो ब्राण्ड एम्बास्डर बनाएको छ । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान समेत रहेका खड्का हाल क्रिकेट एशोशिएसन अफ नेपाल (क्यान)को सचिव छन् । आफ्नो व्यवसायिक क्यारियरमा सर्वाधिक सफल कप्तान खड्का दीपल एस-०७ एसयूभीमा यात्रा गर्छन् । उनी यसअघि महिन्द्रा ब्राण्डसँग पनि जोडिएका थिए ।

एमएडब्लू वृद्धिले आधिकारिक बिक्री गर्दै आएको दीपल ब्राण्डका कारको व्यवसायिक प्रवद्र्धनमा पारस खड्काले ठूलै योगदान दिँदै आएका छन् ।
एनपीएलको पहिलो सिजनमा ओमोडा ई फाइभ कार जितेसँगै नेपाली राष्ट्रिय टीमका उपकप्तान दीपेन्द्र सिंह ऐरी ओमोडा जेको ब्राण्डको ब्राण्ड एम्बास्डर भए । उनले ओमोडा कार चढ्दै आएका छन् । सुदूरपश्चिम रोयल्सको कप्तान समेत रहेको ऐरी अहिले पनि ब्राण्ड एम्बास्डरको रूपमा सक्रिय छन् ।
राष्ट्रिय टीमका कप्तान रोहित पौडेल यसअघि सिट्रोन ब्राण्डका एम्बास्डर थिए । भर्खरै सकिएको एनपीएल सिजन टुमा उनले जेको जे फाइभ कार जितेका थिए । त्योसँगै उनी सिट्रोन छाडेर जेको ब्राण्डसँग जोडिएका छन् । ओमोडा र जेको ब्राण्डका कार एसपीजी अटोमोबाइल्सले बिक्री वितरण गर्दै आएको छ ।

गाडीको ब्राण्डसँग नजोडिए पनि सन्दीप लामिछाने, सोमपाल कामी, आरिफ सेख, अनिल कुमार शाह, ललित राजवंशी लगायत क्रिकेटर अन्य विभिन्न ब्राण्ड एम्बास्डर छन् ।

