बेइजिङ । विश्व अटोमोबाइल क्षेत्रमा एकाएक उदायको चीनले न्यू इनर्जी भेहिकलको सहायताले अलग पहिचान बनाएको छ । विश्वकै ध्यान खिच्दै राजधानी बेइजिङमा ‘२०२६ अटो शो’ चलिरहेको छ ।
यस वर्षको अटो शोमा विभिन्न ब्राण्डले नयाँ मोडल देखाएका छन् । जसमा बीवाइडी, फक्वागेन, टोयोटादेखि दर्जनौ चिनियाँ स्टार्टअप कम्पनीले नयाँ कार प्रदर्शनीमा राखेका हुन् । यी कम्पनीहरूको नयाँ भेहिकलमा हजारौँ अवलोकनकर्ता झुम्मिएका छन् ।
चीन ईभी विकासमा आक्रमक बन्ने योजना बुन्दै गर्दा सबैभन्दा सस्तो र साना बाटोहरू सुहाउँदो मिनी कार उत्पादनमा जुटेको थियो । त्यसपछि क्रमशः साइज बढाउँदै जाँदा अहिले रोजाइ, डिजाइन र फिचर सँगै साइज पनि ५ मिटरभन्दा माथि पुगेको देखियो ।
बेइजिङ अटो शो २०२६ मा भाग लिएका मध्ये अधिकांश ब्राण्डले ५ मिटर माथि लामो साइजका एसयूभी देखाएका छन् । साइजमा व्यापक वृद्धि भएपनि मूल्यका हिसाबले राम्रो भएका कारण चिनियाँ उपभोक्ता पनि घुइँचो गर्दै स्टलमा हेर्न पुगेको हामीले देख्यौं ।
बीवाइडी, जिली, नियो, जिकर, एक्सपेङ, आइतो, आइएम, बीएआइसी, लीपमोटर लगायतका ब्राण्डले ५ मिटर माथिका एसयूभी देखाए । यी ब्राण्डका अलावा चीनमा वर्चश्व जमाएर बसेका विदेशी ब्राण्डहरु पनि ठूला एसयूभी ल्याउन केन्द्रित भएको देखियो ।
लेक्सस, टोयोटा, मर्सिडिज बेन्ज, अउडी, फक्सवागेन, फोर्ड लगायतका ब्राण्डको प्राथमिकतामा पनि ५ मिटर माथिकै एसयूभी परेका छन् । यसले एशियाली कार बजारमा नयाँ मानक स्थापना गर्ने विषय प्रस्ट झल्किन्थ्यो ।
दुई वर्षमै फेरियो अवस्था
सन् २०२४ को बेइजिङ अटो शोमा लाइफ स्टाइल भेहिकल धेरैको रोजाईमा थियो । त्यतिबेला कन्सेप्ट देखाउने अधिकांश ब्राण्डले लाइफ स्टाइल भेहिकल देखाएका थिए । अहिले तीनै कम्पनीहरू लक्जरी र ठूला एसयूभीमा केन्द्रित भएको देखियो ।
सन् २०२४ मा जेटोर, चेरी, एमजी, टोयोटा, जीएसी लगायतका ब्राण्डको प्राथमिकतामा लाइफ स्टाइल भेहिकल थिए । अहिले यी नै कम्पनीहरू ठूला एसयूभी बनाउन केन्द्रित भएको देखियो ।
उड्ने कार छैन प्राथमिकतामा
गाडी बिक्रेताहरूले अघिल्ला दुई वर्ष उड्ने कारलाई निकै प्राथमिकतामा राखेका थिए । हरेक कम्पनीले कुनै न कुनै उड्ने कारको कन्सेप्ट देखाएका थिए । अहिले त्यस्तो अवस्था पनि देखिएन ।
सन् २०२५ सांघाई अटो शोमा उड्ने कार देखाएका कम्पनीहरुले एक वर्षपछि भएको बेइजिङमा उड्ने कारलाई प्राथमिकतामै राखेको पाइएन । बरू उनीहरूले रोवर्टहरूको प्रदर्शनीलाई मुख्य बनाएको पाइयो । यसले चिनियाँ अटोमोबाइलमा फरकपन दिएको पाइयो ।

