काठमाडौं । नेपाली बजारमा वुलिङ बण्डका चार नयाँ मोडल आउने भएका छन् ।
वुलिङको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले आफ्नो ईभी पोर्टफोलियो बलियो बनाउन वुलिङका ४ नयँ मोडल ल्याउने भएको हो ।
कम्पनीले विश्वप्रसिद्ध अटोमोबाइल समूह एसएअइसी जीएम वुलिङको प्रविधि र साझेदारीमा निर्मित चार नयाँ मोडेलहरू भित्र्याउने तयारी गरेको हो ।
कम्पनीले वुलिङको नयाँ एसयूभी, ह्याचब्याक, एमपीभी ल्याउन लागेको हो । कम्पनीका अनुसार ७ सिटे प्रिमियम एसयूभी ‘एक्सियन’, वुलिङ मिनी ईभी, डेरियान एमपीभी र बिंगो ईभी ल्याउन लागिएको हो ।

ठूला परिवारलाई लक्षित गरी ल्याउन लागिएको यो एक्सियन एसयूभीमा ६९.२ किलोवाट आवरको म्याजिक ब्याट्री प्रो रहेको छ । जसले एकपटकको फुल चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। सुरक्षाका लागि यसमा ३६० डिग्री क्यामेरा, अत्याधुनिक एडास लगाति फिचर छन् ।
त्यस्तै, कम्पनीले सहरी क्षेत्रका लागि अत्यन्तै उपयुक्त ४ ढोके वुलिङ मिनी ईभी ल्याउने भएको छ । ग्लोबल स्मल इलेक्ट्रीक भेहिकल आर्किटेक्चरमा बनेको यो मिनि ईभीले ३०१ किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ । यसमा डीसी फास्ट चार्जिङको सुविधा समेत उपलब्ध छ ।
कम्पनीले ल्याउने ७ सिटे डेरियान एमपीभी लामो दूरीको यात्रा र प्रिमियम अनुभवका लागि उत्कृष्ट विकल्प हुनेछ । यसले एकपटकको फुलचार्जम ५४० किलोमिटरसम्मको रेन्ज दिनेछ । स्लाइडिङ ढोका र विलासी आन्तरिक सजावट यसका मुख्य विशेषता हुन्।

नेपाली सडकमा लोकप्रिय रहेको बिंगो ईभी ह्याचब्याक अब थप शक्ति र परिष्कृत सुविधाहरूका साथ आउँदैछ। यो मोडेल ३१.९ किलोवाट आवर र ३७.९ किलोवाट आवरको दुई ब्याट्री अप्सन उपलब्ध हुनेछ । जसले एकपटको फुलचार्जमा क्रमशः ३३३ किमी र ४१० किमी रेन्ज दिनेछ ।
यसमा ५० किलोवाटको मोटर जडान गरिएको छ । जसले ६७ हर्ष पावर र १५० न्युटन मटर टर्क प्रदान गर्र्छ । यसको क्याबिनमा १०.२५ इन्चको डुअल इन्फोटेनमेन्ट स्क्रिन छ । ७९० लिटरसम्मको फराकिलो कार्गो स्पेस रहेको छ। सुरक्षालाई उच्च प्राथमिकता दिँदै यसमा एबीएस, ईबीडी र भेरियन्ट अनुसार ६ वटासम्म एयरब्यागहरू समावेश गरिएका छन्।


