काठमाडौं । एडभेन्चर राइडिङ धेरैको शौखको विषय हो । रोमान्चक मानिने बाइकको यात्रालाई एडभेन्चर बाइकले अझै रोमान्चक तथा सहज बनाउने गर्छ । त्यसमापनि, युवापुस्ताले एडभेन्चर राइडिङप्रति छुट्टै मोह राख्ने गर्छन्, ।
नयाँ पुस्तामा यस्ता बाइकप्रतिको आकर्षण बढ्दै गएको पाइन्छ । बाइक उत्पादक कम्पनीले लामो दुरिको यात्रालाई मध्यनजर गर्दै आकर्षक फिचर, डिजाइन तथा पावरट्रेनका एडभेन्चर बाइक निर्माण गर्छन् । यो सेग्मेन्टका बाइकको बजार दिनानुदिन बिस्तार हुदै गएको छ ।
जसको प्रत्यक्ष प्रभाव नेपाली अटो बजारमा नियाल्न सकिन्छ । हाल नेपाली बजारमा थुप्रै कम्पनीका एडभेन्चर बाइक बिक्री भइरहेका छन् । सँगै, बजारमा यो सेग्मेन्टका बाइकको माग उत्तिकै बढिरहेको छ । नेपाली बजारमा हाल उपलब्ध हुने केही एडभेन्चर बाइकको सूचि यस्तो छ ।
रोयल इन्फिल्ड हिमालयन

नेपाली बजारमा निक्कै रुचाइएको रोयल इन्फिल्ड हिमालयन ५ लाख ६१ हजार रुपैयाँमा बिक्री भइरहेको छ । एडभेन्चर सेग्मेन्टको यो बाइकमा उपलब्ध सिंगल सिलिण्डर, एयर कुल्ड, ४ स्ट्रोक एसओएचसी इन्जिनले ६ हजार ५ सय आरपीएममा २४.५० बीएच पावर तथा ४२५० आरपीएममा ३२ एनएम टर्क उत्पादन गर्छ । बाइकमा पेट्रोल टंयाकी १५ लिटरको छ । यसले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनीको दावी छ ।
२२० एमएम ग्राउन्ड क्लिरेन्स रहेको बाइकमा अगाडि ३०० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक रहेको छ । बाइकको कुल तौल १८२ किलोग्राम रहेको छ । बाइकको लम्बाई २१९० एमएम र चौडाई ८४० एमएम छ । सिटको उचाई ८ सय एमएम छ भने बाइकको कुल उचाई १३ सय ६० एमएम छ ।
बिएमडब्ल्यू जिएस ३१०

एडभेन्चर टुरर बाइक बीएमडब्ल्यू जी–३१० जीएसमा ३१३ सीसी, सिङ्गल सिलिन्डर, लिक्विड–कूल, फ्यूल इन्जेक्सन इञ्जिनले ३४ बीएच पावर र २८ एनएम–टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा सिक्स–स्पीड गियरबक्स जडान गरिएको छ । उक्त एड्भेञ्चर मोडलले राम्रो पफर्मेन्ससमेत देखाइरहेको छ । जी–३१० जीएसको अधिकतम् स्पीड क्षमता १४३ किलोमिटर प्रतिघन्टा रहेको छ ।
जी–३१० जीएसमा फोर–पिस्टन क्यालिपर–३०० एमएम फ्रन्ट–डिस्कब्रेक र पछाडि सिङ्गल पिस्टन क्यालिपर–२४० एमएम डिस्कब्रेक रहेको छ । कम्पनीले यसमा ड्यूल च्यानल एबीएस सिस्टमसहितको स्ट्यान्डर्ड प्याकेज दिएको छ । जी–३१० जीएसको अगाडि भागमा ४१ एमएम अपसाइड डाउन–फर्क दिइएको छ भने पछाडि भागमा १८० एमएम प्रि–लोडेड एड्जस्टेवल मोनो–शक राखिएको छ ।
रातो र कालो रंगको बिएमडब्ल्यू जी–३१० जीएसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरेको छ । सेतो रंगमा उपलब्ध सोही मोडलको मूल्य ११ लाख १५ हजार रुपैयाँ तोकिएको छ ।
टिआरके २५१

एडभेञ्चर स्पोर्टस मोटरसाइकल पारखीको लागि बेनेलीले ल्याएको २५० सीसी सेग्मेन्टमा यो मोटरसाइकल निकै उपयोगि हुने कम्पनीले जनाएको छ । लामो यात्रामा रमाउनेहरुको लागि टीआरके २५१ नेपाली बजारमा उत्कृष्ट विकल्प रहेको केटिएम इन्टरनेशनलको दाबी छ ।
यसमा कम्पनीले २४९.२ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड, एफआई इन्जिन दिएको छ । उक्त इन्जिनले ९५०० आरपीएममा अधिकतम २५ पीएस पावर र ७५०० आरपीएममा २१ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड गियरबक्स दिइएको छ ।
सुरक्षाको लागि दुबै चक्कामा डिस्क ब्रेक दिइएको यो मोटरसाइकलमा डबल च्यानल एबीएस उपलब्ध रहेको छ । अन्तर्राष्ट्रिय बजारमा यसको प्रतिस्पर्धा होन्डा सिआरएफ सिरिजसँग भइरहेको छ ।
यसमा अपसाइड डाउन फर्क, ठूलो डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, २०० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स र १७ लिटर क्षमताको ठूलो इन्धन ट्याङ्की दिएको छ ।
केटिएम इन्टरनेशनल ट्रेडिङले यसलाई नेपाली बजारमा ६ लाख ३० हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।
एक्सपल्स २००

हिरो मोटर्सकर्पले केही समय अगाडिमात्रै नेपाली बजारमा सार्वजनिक गरेको एक्सपल्स २०० र एक्सपल्स २०० टी एडभेन्चर सेग्मेन्टका बाइक हुन् । हिरो एक्सपल्स २०० मा स्पोक ह्विल्स र अफरोड टायर रहेको छ । यसको फ्रन्ट ह्विल २१ इन्च र रियर ह्विल १८ इन्चको रहेको छ । सो बाइकलाई अफरोड राइडिङको लागि डिजाइन गरिएको छ । यसको ग्राउन्ड क्लियरेन्स २२० एमएम छ । एक्स्प्लस २०० मा लामो विन्डस्क्रिन पनि समावेश गरिएको छ । एक्सपल्स २००टी मा अलोय ह्विल्स र रोड टायर जडान गरिएको छ र सो बाइक पर्यटनको लागि निकै राम्रो मानिएको छ ।
हिरोको यो एडभेन्चर बाइकमा २०० सीसी, एयर कुल्ड, फ्युल इन्जेक्सन, सिंगल सिलेन्डर इन्जिन जडान गरिएको छ । सो इन्जिनले ८००० आरपीएममा १८.४ पीएसको पावर र ६५०० आरपीएममा १७.१ एनएमको टर्क जेनेरेट गर्छ । यसको मूल्य ३ लाख ८५ हजार रुपैयाँ रहेको छ ।

