बजेटपछि मूल्य बढेका विद्युतीय कार, कसले कति बढाए ?

काठमाडौं । सरकारले गत जेठ १५ गते सार्वजनिक गरेको बजेटले विद्युतीय कारमा १० प्रतिशतभन्दा केही बढीको असर आउने गरी भन्सार र अन्तःशुल्कमा वृद्धि गरेको थियो ।

बजेटले मूल्य वृद्धि गरेपनि ठूलो परिमाणमा बजेट अगाडि गाडी आयात भएको कारण कम्पनीहरुले मूल्य बढाउन हतार गरेनन् । अझैपनि धेरै कम्पनीसँग गाडी स्टकमा रहेको कारण मूल्य बढाउन हतार नगरेको बुझ्न सकिन्छ ।

अहिले मूल्य वृद्धिको घोषणा गरेका कम्पनीहरुले पनि पहिल्यै बुकिङ गरेका ग्राहकलाई पुरानै मूल्यमा गाडी उपलब्ध गराएका छन् । केही कम्पनीले मूल्य बढाएपनि ग्राहकलाई बजेट अगाडिकै मूल्यमा गाडी दिइरहेका छन् ।

बीवाइडीले बढायो १० लाखसम्म

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले केही दिन अघि मात्रै मूल्य बढाएको हो । यसअघि ३९ लाख ८० हजार मूल्य रहेको बीवाइडी डल्फीन बजेटपछि बढेर ४१ लाख १५ हजार रुपैयाँ पुगेको छ । बीवाइडीले आफ्नो सफल मोडल एटो–थ्री एड्भान्स र सुपेरियर मोडलको मूल्य पनि बढाएको छ । नयाँ मूल्य अनुसार एटो–थ्री एड्भान्स मोडलमा ९१ हजार रुपैयाँले मूल्य वृद्धि गरेर ५६ लाख ९० हजार बनाएको हो ।

एटो–थ्रीकै सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार बनाइएको छ । यसअघि यसलाई कम्पनीले ६५ लाख ८८ हजार रुपैयाँमा बिक्री गर्दै आएको थियो । यसमा १ लाख ९२ हजार रुपैयाँ मूल्य वृद्धि गरेको हो ।

बीवाइडीकै प्रिमियम मोडल स्पोर्टी सेडान सिलको मूल्य भने १० लाख रुपैयाँसम्मले वृद्धि भएको छ । कम्पनीले सिल वेस भेरियन्टको मूल्य १ करोड ५ लाखबाट बढाएर १ करोड १० लाख बनाएको छ ।

सिल मिड भेरियन्टको मूल्य १ करोड ३९ लाखबाट बढेर १ करोड १४५ लाख ५० हजार र टप भेरियन्टको मूल्य १ करोड ८५ लाखबाट बढेर १ करोड ९५ लाख पुगेको हो ।

टाटा टियागो ईभी

बजेटपछि सिप्रदीले टियागो ईभीको मूल्य १ लाख रुपैयाँले वृद्धि गरेको कम्पनीले यसअघि बिक्री गर्दै आएको विभिन्न भेरियन्टहरु सबैमा मूल्य बढेको हो ।

नयाँ मूल्य अनुसार लङ रेन्ज टियागो एक्सटीको २७ लाख ९९ हजार, एक्सजेड प्लसको २८ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरीको मूल्य २९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

दिपल

चांगानको इलेक्ट्रीक ब्राण्ड दिपल एस–०७ बजेटपछि सबैभन्दा चाँडो मूल्य वृद्धि भएको मोडल हो । कम्पनीले ७१ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको दिपल एस–०७ मा ३ लाख रुपैयाँले मूल्य बढाएको हो ।

एमएडब्लू वृद्धि कर्पले बढाएको मूल्यपछि एस–०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ पुगेको हो ।

धेरैले मूल्य परिवर्तन गरेका छैनन्

बजेटले मूल्य बढाएपनि अहिलेसम्म नेटा, सिट्रोन, एवोन, महिन्द्रा, हुन्डाई, किया, सेरेस, एमजी जस्ता, ओमोडा ब्राण्डले मूल्य परिवर्तन गरेका छैनन् ।

एमजीले तत्कालै मूल्य परिवर्तन नगर्ने जानकारी दिएको छ । साथै, अन्य ब्राण्डको पनि तत्काल मूल्य बढाउने योजना नरहेको बुझिन्छ ।


Back_to_top