लामो समयदेखि वाइड बडी जहाजमा एकछत्र राज गरेको बोइङ कम्पनीको ७४७ जम्बो जेटलाई टक्कर दिनका लागि युरोपेली जहाज निर्माता कम्पनी एयरबसले सन् १९८८ बाट ठूलो जहाज निर्माण गर्ने सोच बनाएको थियो । सोही योजना अनुरुप एयरबसले सुपर जम्बोजेट एयरबस ए-३८० को निर्माण गरेको हाे ।
बोइङ ७४७ मा अगाडिको केही भागमा डबल डेक रहेकोमा एयरबसको ए-३८० मा भने पूरै अगाडीदेखि पछाडिसम्म डबल डेक रहेको छ । यो पहिलो र सायद एकमात्र दुर्इ तल्ले जहाज हुनेछ ।

एयरबसले आफ्नो विकास केन्द्र फ्रान्सको टुलुसमा सन् २००५ जनवरीमा पहिलो पटक जहाजको प्रोटोटाइपको परिक्षण उडान गरेको थियो । सो समयमा यो जहाजको कोड ए ट्रिपल एक्स (AXXX) राखिएको थियो । याे जहाजको व्यवसायिक उडान भने सन् २००७ को अक्टुवरबाट सिंगापूर एयरलायन्सले सुरु गरेको हो ।

यस जहाजमा एक पटकमा ८६८ जनासम्म यात्रुले यात्रा गर्न सक्ने सर्टिफाइड भएको थियो । जसमा ५३८ जना मेनडेक तथा ३३० माथिल्लाे डेकमा रहने गरि सिट एरेन्ज गरिएको छ । तर, एयरलाइन्सले विभिन्न ३ वटा क्लासमा विभाजन गरेर एक पटकमा ५७५ जनासम्म यात्रु उडाएका छन् । आधुनिक फ्लाई बाई वायर टेक्नलोजी सहितको डिजीटल ग्लास ककपिट रहेको यो जहाज साइजमा ठूलो भएतापनि उडाउन निकै सजिलो रहेको क्याप्टेनहरुले बताउने गरेका छन् ।
यस जहाजको लम्बाइ २३९ फिट, उचाई ७९ फिट, दुवै पखेटाको कुल लम्वाई २६२ फिट रहेको छ । यस जहाजमा एक पटकमा ३ लाख २३ हजार लिटर अट्ने फिउल ट्याक रहेको छ । त्यस्तै यसको अधिकतम टेकअफ वेट ५७५ टन रहेको छ भने, अधिकतम गति ९४५ किलोमिटर प्रति घण्टा रहेको छ । जहाजको बाहिरी सतहमा पेन्टको ताैल ६५० केजी रहेको छ ।
रोल्स रोयल्सको टेन्ट ९०० र अलायन्सको जीपी ७००० मोडलका चारवटा इन्जिन रहेको यस जहाजले एक पटकमा १४ हजार ८ सय किलोमिटरको यात्रा तय गर्ने क्षमता राख्छ । हालसम्म यो मोडलको अर्डर २९० वटा रहेको र २३४ वटा डेलिभर भइसकेको छ । विश्वभरका १३ वटा प्रतिष्ठित हवाई कम्पनीहरुले यस जहाजको प्रयोग गरिरहेका छन् । संयुक्त अरब इमिरेट्सको इमिरेट्स एयरलायन्स यो जहाजको सबभन्दा ठूलो ग्राहक हो । इमिरेट्सले १२३ वटा अर्डर गरेर १०९ वटा डेलिभरी लिइसकेको छ ।

ठूलो क्याविन स्पेस भएकाले यस जहाजमा एयरलाइन्सहरुले विभिन्न सुविधाहरु अफर गरेका थिए । अनफ्लाईट बार तथा सवार सहितको सुइटरुम, ल्याभिस फस्टक्लास रुम, स्पेसियस बिजनेस क्लास सिट तथा आरामदायी इकनोमि क्लासका सिटहरु यस जहजमा रहेका छन् । इमिरेट्सको ए-३८० मा रहेको फस्ट क्लास सुइटमा दुवईबाट न्यूयोर्कको उडानको सिटको मूल्य नै १९ हजार १३० डलर तोकेको छ । जसमा ४० वर्ग फिटको प्राइभेट रुम नै रहेको छ ।

प्रारम्भिक अनुमानमा १०.७ विलियन डलर लाग्ने भनिएको ए-३८० को डेभलेपमेन्ट कस्ट कमर्सियल प्रडक्सन हुने समयसम्म दोब्बरले वृद्धि भइ २०.३ विलियन डलर पुगेको थियो । यसमा एयरबसले हालसम्म १५ वर्षको समयमा २८ बिलियन डलर लगानी गरिसकेको छ ।
तर यति धेरै समय र लगानी लागेको ए-३८० को प्रोजेक्ट भने सबभन्दा ठूलो ग्राहक इमिरेट्सले आफ्नो ओरिजीनल १६० वटा जहाजमा ३९ वटा जहाजको अर्डर क्यान्सिल गरेसँगै यसको भविष्य अन्धकार देखिएको ठम्याइ एयरबसको छ । कम्पनीकाअनुसार सन् २०२१ वाट यो जहाजको उत्पादन बन्द गरिने छ ।

आधुनिक विश्वका साना एयरक्राफ्टहरुले ‘पोइन्ट टु पोइन्ट’ उडान गर्ने क्षमताको विकास भएसँगै सुपर जम्बो जेटको ‘हब एण्ड स्पोक राउट मोडल’का उडानहरु खाली हुन थालेका छन् । अल्ट्रा मोर्डन कम्पोजीट मेटिरियलले बनेका बोइङ ७८७ तथा एयरबस ए-३५० जस्ता विमानहरुले टाढाका साना साना रुटहरुमा नाफायोग्य उडान संचालन गर्न सफल भएका छन् । क्वान्टास एयरलायन्सका सीईओ एलज जोयका अनुसार एयरवसको सुपर जम्बो जेट संचालन गर्नुभन्दा दुईवटा बोइङ ७८७ ड्रिमलाइनर संचालन सस्तो पर्ने जनाएका छन् ।
एयरलाइन्स संचालनको डाइनामिक्समा भएको परिर्वतनसँगै दुई दशक अगाडिको एयरबसको यो सुपरजम्बो जेटको आँकलन फेल खाएको छ । विश्वको सबैभन्दा महगो (एउटै जहाजको ४४५ मिलियन डलर) पर्ने यो ल्याभिस जहाज संचालन गर्ने रिस्क अबको समयमा कुनै एयरलाइन्सले पनि लिन नसक्ने पक्कापक्की जस्तै छ ।

सन् २०२१ मा ए-३८० को उत्पादन बन्द हुने भएता पनि अबको दशकसम्म ए-३८० विश्वको आकासमा उडान गरिनै रहनेछ । यात्रुहरु माझ स्मुद टेकअफ एण्ड ल्यान्डिङका साथै कम भाईब्रेस तथा थोरै क्याविन न्वाइजको रुपमा परिचित रहेको यो सुपर जम्बो जेट सबैभन्दा ठूलो र धेरै यात्रु क्षमताको जहाजको रुपमा एभिएसन इन्ड्रिष्टीले सधै सम्झी नै रहनेछ ।

