यस्तो हुनेछ नयाँ डस्टर, ‘प्योर हाइब्रिड’ले माइलेज बढ्ने

काठमाडौं । फ्रन्च कार निर्माता कम्पनी रेनोले आफ्नो कम्प्याक्ट एसयूभी डस्टरको तस्बिरहरु बाहिर ल्याएको छ । तस्बिर बाहिर आएसँगै कम्पनीले नयाँ जेनेरेशन डस्टर चाँडै बिक्री सुरु गर्ने योजना बनाएको बुझ्न सकिन्छ ।

नयाँ जेनेरेसन डस्टरमा अगाडि रेनोको लोगो सट्टामा अँग्रेजी अक्षरमा रेनो लेखिएको छ । नयाँ डस्टरको अगाडि स्लीम डिजाइनको ‘वाई सेप’को एलइडी डीआरएल, भर्टिकल एयरभेन्ट, सर्कूलर फग लाइटसहितको बम्पर दिइएको छ ।

नयाँ जेनेरेशन डस्टरको पछाडिको भागमा पनि ‘वाई सेप’कै टेललाइट र १८ इन्चको अलोय ह्वील देख्न सकिन्छ । कम्पनीले यसलाई रेनो–निसानको ‘सीएमएफ बी प्लेटफर्म’मा बनाएको हो । यसको लम्बाई ४३४३ एमएम छ भने ह्वीलवेस २६५७ एमएम लामो रहनेछ ।

कम्पनीले यसको इन्टेरियरलाई पहिलेको भन्दा निकै पृथक र फिचर लोडेड बनाउने छ । नयाँ डस्टरमा ७ इन्चको भर्चुवल इन्ट्रुमेन्ट क्लस्टर र १०.१ इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । यसका अलावा वायरलेस चार्जीङ प्याड, वायरलेस एप्पल कारप्ले र एण्ड्रोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल पाउन सकिन्छ ।

युवा लक्षित मोडल भएको कारण अर्काम्सले बनाएको ६ वटा स्पीकर सहितको थ्रीडी साउण्ड सिस्टम दिइएको छ । एसयूभीमा सुरक्षाका लागि अटोमेटिक एमर्जेन्सी ब्रेक, भेहिकल प्रेडिस्ट्रेन साइकलीस्ट तथा मोटरसाइकल डिटेक्सन फिचर दिइएको छ । साथै, ट्राफिक साइन रिकगनेसन, स्पीडीङ अलर्ट, रियर पार्किङ असिस्टेन्ट, लेन चेन्ज वार्निङ सहितको एडास टेक्नोलोजी पाउन सकिन्छ ।

रेनोले नयाँ डस्टरमा अटो, स्नो, मड/स्याण्ड, अफरोड र ईको जस्ता ड्राइभिङ मोड दिनेछ । यो एसयूभीमा २१७ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स र ३१ डिग्रीको अप्रोच डिपार्चर र ३६ डिग्रीको डिपार्चर एङ्गल दिइएको कारण जस्तोसुकै अफरोडको लागि उपयुक्त मानिन्छ ।

रेनोले नयाँ डस्टरमा २ वटा इलेक्ट्रीक मोटर सहितको १.६ लिटरको ४ सिलिण्डर पेट्रोल हाइब्रिड इन्जिन दिएको छ । यसमा १.२ किलोवाट आवरको ब्याट्री प्याक पाउन सकिन्छ । त्यस्तै १.२ लिटर, थ्री सिलिण्डर टर्बो पेट्रोल इन्जिन पनि यसमा रहने छ ।


Back_to_top