काठमाडौं । एडभान्स अटोमोवाइलले यही हप्ताबाट बिक्री सुरु गर्न लागेको रेनो क्वीड फेसलिफ्ट मोडल तीन भेरियन्टमा नेपाल आएको छ । कम्पनीले यसको टप तीन भेरियन्ट आरएक्सटी (ओ), क्लाइम्बर र अटोमेटिक भेरियन्ट नेपाल ल्याएको हो ।
कम्पनीले नयाँ क्वीडको यही हप्ताबाट डेलिभरी सुरु गर्ने जनाएको छ । यसअघि प्रि-बुकिङ खुल्ला गरेको कम्पनीले अब बुकिङ कर्तालाई डेलिभरी दिन लागेको हो ।
कम्पनीले यी तीनवटै भेरियन्टको मूल्यमा केही फरक पारेर मूल्य निर्धारण गरेको छ । क्वीड आरएक्सटी (ओ) भेरियन्टको मूल्य २४ लाख ९९ हजार, क्वीड क्लाइम्बरको मूल्य २५ लाख ९९ हजार र अटोमेटिक भेरियन्टको मूल्य २६ लाख ४९ हजार रुपैयाँ मूल्य निर्धारण गरेको कम्पनी स्रोतले जनाएको छ ।
नयाँ फेसलिफ्ट क्वीडमा बीएस ६ मापदण्डको १.० लिटर पेट्रोल इन्जिनमा आएको छ । उक्त ९९८ सीसी क्षमताको इन्जिनले ६८ पीएस पावर र ९१ एनएम टर्क उत्पादन गर्छ । नयाँ क्वीड पहिलेभन्दा ५१ एमएम लामो रहेको छ । गाडीको तौलपनि पुरानो मोडलको भन्दा ३५ देखि ४० किलोग्राम बढेको कम्पनीले जनाएको छ । यसको बम्पर र ह्वीलवेशपनि परिमार्जन गरिएको छ ।

सन् २०१५ पछि पहिलो पटक पूर्ण फेसलिफ्टमा आएको क्वीडमा आकर्षक ग्रिल, रिस्टाइल बम्पर, स्प्लिट हेडल्याम्प सेटअपसँगै एलइडी डिआरएलएस लगाइएको छ । कम्पनीले यसको फ्रन्ट र रियर साइडलाई निक्कै परिवर्तन गरेको छ ।
पहिलेको तुलनामा आधुनिक फिचर दिइएको क्वीडमा पावर विन्डो, दुई एयरब्याग, रियर पार्किङ सेन्सर, एन्ड्रोइड अटो, एप्पल कार प्ले, रियर सिट आर्मेस्ट, एयरब्याग, एबीएस, इबीडी, रियर सेन्सर, सिटबेल्ट रिमाइन्डर, स्पीड अलर्ट सिस्टम जस्ता फिचर उपलब्ध रहेको छ ।
यसको इन्टेरियरमा नयाँ डिजाइनको ड्यास बोर्ड दिइएको छ । डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, स्टेयरिंग ह्वील, ट्राइबरमा लगाइएको लार्ज साइज ८.० इन्चको टचस्क्रिन इन्फोटेनेमन्ट सिस्टमले कारलाई पहिलेको तुलनामा उत्कृष्ट देखाएको छ ।

