काठमाडौं । शीतलहरका कारण सडक चिप्लो बनेपछि नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सवारी आवागमनमा समस्या भएको छ ।
सडक चिप्लो भएपछि सवारी साधन गुड्न दाउन्नेको उकालो चढ्न र ओरालो झर्न समस्या भएको छ । सोमबारदेखि सवारी साधन फसेका छन् ।
साथै, सो सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक संचालन भइरहेकोले सवारी संचालनमा थप कठिनाई हुने सम्भावना रहेको सडक विभागको एडीबी आयोजना निर्देशनालय जनाएको छ ।
आयोजनाले मौसममा सुधार नहुन्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न अनुरोध छ। साथै, यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत आग्रह गरेको छ।
आयोजनाका अनुसार पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन नारायणघाट-मुग्लिङ-पोखरा-स्याङ्जा-पाल्पा हुँदै बुटवल जान सक्नेछन्। त्यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन्।
त्यसैगरी, काठमाडौंबाट बर्दघाट पश्चिम जाने र बुटवल-काठमाडौं जाने सवारी साधनहरू काठमाडौं-मुग्लिङ-पोखरा हुँदै यात्रा गर्न सक्नेछन्।
दुईपाँग्रे र चारपाँग्रे सवारीसाधन दुम्कीबास-ज्यामिरे-डाँडाचोक-डमार-भुताहा सडक हुँदै यात्रा गर्न सक्ने छन् ।

