अमेरिका-नेपाल व्यावसायिक कोरिडोर सुदृढ बनाउन रणनीतिक संवाद

काठमाडौं । नेपाल र संयुक्त राज्य अमेरिकाबीचको व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले राजधानीमा एक उच्चस्तरीय रणनीतिक संवाद सम्पन्न भएको छ ।

अमेरिकन चेम्बर अफ कमर्स इन नेपाल (एमच्याम नेपाल) ले अमेरिकी वित्तीय संस्था ‘क्रस रिभर बैंक’ सँगको सहकार्यम ‘नेपाल, विश्वव्यापी पूँजी र वित्तीय नवप्रवर्तनको भविष्य’ नामक विशेष लिडरशिप डाइलगको सफलतापूर्वक आयोजना गरेको हो।

उक्त ऐतिहासिक कार्यक्रममा नेपालको बैंकिङ, वित्त, लगानी, फिनटेक, बिमा, प्राइभेट इक्विटी तथा समग्र व्यावसायिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो।

यो संवादले उदीयमान लगानी गन्तव्यका रूपमा नेपालको बढ्दो सम्भावनालाई उजागर गर्नुका साथै नवप्रवर्तन, निजी क्षेत्रको नेतृत्व र दीर्घकालीन साझेदारीमार्फत संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक सहयोगलाई विस्तार गर्ने साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ ।

एमच्याम नेपालका उपाध्यक्ष आकाश गोल्छाले विद्यमान अमेरिकी लगानीकर्ताहरूलाई सहयोग गर्दै र नयाँ अमेरिकी लगानीका लागि मार्गहरू सिर्जना गरेर नेपाललाई अवसरको देशका रूपमा स्थापित गर्ने चेम्बरको लक्ष्यलाई पुनः जोड दिए ।

उनले एमच्याम नेपाल निरन्तर वकालत, रचनात्मक नीतिगत संवाद र दुई देशबीचको बलियो व्यावसायिक सम्बन्धमार्फत नेपालको लगानीको वातावरणमा सुधार ल्याउन प्रतिबद्ध रहेको कुरामा जोड दिए ।

क्रस रिभर बैंकको प्रतिनिधित्व गर्दै कार्यकारी उपाध्यक्ष प्रवेश रिजालले यस भ्रमणलाई नेपालसँगको दीर्घकालीन संलग्नताको सुरुवातका रूपमा वर्णन गरे ।

क्रस रिभर बैंकका लगानी सहप्रमुख हेनरी पेनेलले नेपालको वित्तीय नेतृत्व र अन्तर्राष्ट्रिय सहकार्यको दृष्टिकोणको प्रशंसा गरे। काठमाडौंस्थित अमेरिकी दूतावासकी आर्थिक प्रमुख क्याथरिन लेहीले पनि यूएस-नेपाल व्यावसायिक संलग्नतालाई विस्तार गर्ने महत्त्वमा जोड दिइन् ।

एमच्याम नेपालका कार्यकारी निर्देशक अमिर थापाले सेलेक्ट यूएसए संलग्नता, नेपाली डायस्पोरासँगको पहुँच र डायस्पोरा लगानी पोर्टल लगायत एमचाम नेपालका बृहत्तर व्यावसायिक कूटनीति पहलहरूलाई प्रकाश पारे ।


Back_to_top