काठमाडौं । नेपालको लागि अप्रिलियाको आधिकारीक वितरक डि लाइफ स्टाइलले आफ्नो दुई नयाँ डट बाइकलाई बजारमा सार्वजनिक गर्दैछ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा एसएक्स १२५ र आरएक्स १२५ लाई नेपाली बजारमा सार्वजनिक गर्न लागेको हो ।
यसको बजारमा उपस्थितिसँगै डट बाइक सेग्मेन्टमा अझै प्रतिस्पर्धा बढ्ने भएको छ । यामाहाले पनि १२५ सीसी सेग्मेन्टमा डट बाइकको बुकिङ खुल्ला गरिसकेको छ ।
अप्रिलाले सार्वजनिक गर्न लागेको एसएक्स र आरएक्स दुबै बाइकले उच्च पर्फमेन्स गर्ने कम्पनीले दाबी गरेको छ ।
१२५ सीसी सिंगल सिलिन्डर फोर स्टोक इन्जिन दिइएको यी दुबै बाइकमा १७ इन्चको स्पोक ह्वील दिइएको छ । दुबै बाइकमा अगाडिको चक्कामा ३०० एमएमको डिस्क ब्रेक दिइएको छ भने, पछाडिको चक्कामा २२० एमएमको डिस ब्रेक दिइएको छ ।
कम्पनीले यी दुबै अफरोड बाइक नेपाली बाटो सुहाउँदो रहेको जनाएको छ । जसमा आरएक्स १२५ पूर्ण अफरोड राइडिङलाई ध्यानमा राखेर बनाइएको हो भने, एसएक्स १२५ अफरोड र अनरोड दुबैमा उत्कृष्ट पर्फमेन्स गर्ने कम्पनीको दाबी छ ।
सुरक्षालाई मध्यनजर गर्दै दुबै बाइकमा कम्पनीले डियुल च्यानल एबीएस, ट्याक्सन कन्ट्रोलजस्ता फिचरहरु दिइएको छ । यसमा दिइएको इन्जिनले १० हजार ५०० आरपीएममा १५ बिएचपी पावर र ८ हजार २५० आरपीएममा १०.९० एनएम टर्क जेनेरेट गर्छ ।
अप्रिलिया एसएक्सको कुल तौल १३५ केजी रहेको छ भने, यसमा ५ लिटर क्षमताको फियुल ट्याङ्की दिइएको छ । कम्पनीको अनुसार यो बाइकले एक लिटर पेट्रोलमा २५ किलोमिटर माइलेज प्रदान गर्नेछ ।
बाइकको उच्च गति क्षमता ११५ किलोमिटर प्रतिघन्टा रहेको छ भने यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
त्यसैगरी आरएक्स मोडलको सबै फिचर एसएक्सको जस्तै रहेपनि यसको तौल भने करिब १५ केजी कम रहेको छ । यसको कुल तौल १२० किलोग्राम रहेको छ ।
कम्पनीले दुबै मोडलको मूल्यसमेत समान राखेको छ । आजबाट आधिकारीक रुपमा नेपाली बजारमा बिक्री वितरण सुरुहुने उक्त बाइकको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ

