काठमाडौं । लक्ष्मी मोटरहबले नेपाली बजारमा आर्कफक्स टी-१ लाई दुई भेरियन्टमा बिक्री गर्दै आएको छ । चिनियाँ ब्राण्ड आर्कफक्सको यो इलेक्ट्रीक क्रसओभर एलभी-२ र एलभी-३ गरी दुई भेरियन्ट बिक्रीको लागि उपलब्ध भएको हो ।
कम्पनीले यी दुई भेरियन्टको मूल्यमा ३ लाख रुपैयाँको अन्तर कायम गरेको छ । मूल्यमा ३ लाख फरक हुँदा धेरै रकम तिर्नेले के सुविधा पाउँछन् भन्ने विषय धेरैको चासो हुन सक्छ ।
आर्कफक्स टी-१ एलभी-२को मूल्य ३२ लाख ९६ हजार रुपैयाँ र एलभी-३को मूल्य ३५ लाख ९६ हजार रुपैयाँ छ । मूल्य हेर्दा एलभी-३ खरिद गर्न एलभी-२ को तुलनामा ३ लाख रुपैयाँ बढी खर्च गर्नुपर्छ ।
कम्पनीले लिने ३ लाख अतिरिक्त रकम केवल भेरियन्टको नाम परिवर्तनका लागि होइन । ३ लाख बढी तिर्दा केही लक्जरी फिचर, थप सुरक्षा फिचर र सडक प्रयोग गर्न सहज हुने फिचरहरू थपिनेछ ।

त्यसैले आर्कफक्सको टी-२ र टी-३ को तुलनात्मक भिन्नताका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
सिटमा नै भिन्नता
आर्कफक्स टी-१ एलभी-२ मा ‘फ्याब्रिक सिट’ प्रयोग भएको छ । तर, एलभी-३ मा ‘लेदररेट सिट’ पाइन्छ । सिटले नै एलभी-३ को भित्री भागलाई तुलनात्मक रूपमा बढी प्रिमियम अनुभव दिन्छ ।
त्यसैगरी, एलभी-३ मा ‘सिट भेन्टिलेसन’ पनि उपलब्ध छ । एलभी-२ मा भने यो सुविधा छैन । विशेषगरी गर्मी मौसममा लामो दूरीको यात्रा गर्दा भेन्टिलेटेड सिट उपयोगी हुन्छ ।
ठूलो ह्वील र बढी ग्राउण्ड क्लियरेन्स
दुवै भेरियन्टको अर्को देखिने फरक ह्वील साइज हो । एलभी–२मा १७ इन्चको ह्वील छ । त्यही एलभी–३ मा भने १८ इन्चको ह्वील दिइएको छ ।

ठूलो ह्वील साइज प्रयोग भएको एलभी–३ को अर्को महत्वपूर्ण फाइदा यसको ग्राउण्ड क्लियरेन्स हो । एलभी–२ मा १६७ एमएम र एलभी–३ मा १८१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । ग्राउण्ड क्लियरेन्स नै हेर्दा एलभी–३ मा १४ एमएम बढी पाइन्छ ।
३६० डिग्री क्यामेरा र अन्डरबडी भ्यु
पार्किङ तथा साँघुरो स्थानमा गाडी चलाउँदा उपयोगी हुने ३६० डिग्री क्यामेरा एलभी–३ मा उपलब्ध छ । एलभी–२ मा भने यो सुविधा दिइएको छैन ।
एलभी–३ मा अन्डरबडी भ्यु क्यामेरा पनि पाउन सकिन्छ । यसले गाडीको तल्लो भाग वरिपरिको दृश्य हेर्न थप सहयोग गर्छ । एलभी–२ मा यो सुविधा उपलब्ध छैन ।
एडास फिचरमै भिन्नता
दुई भेरियन्टबीचको सबैभन्दा महत्वपूर्ण प्राविधिक अन्तर ‘एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम’ (एडास) हो ।

आर्कफक्स टी-१ को एलभी-२ भेरियन्टमा एडास फिचर छैन । एलभी-३ मा भने लेभल-२ एडास छ । यसले चालकलाई विभिन्न परिस्थितिमा आवश्यक सहायता प्रदान गर्नेछ । सुरक्षा फिचरमा पनि अब्बल बनाएको छ ।
निष्कर्ष
आर्कफक्स टी-१ को दुई भेरियन्टमा मूल्य ३ लाख मात्रै फरक भएपनि फिचरको लामो लिस्ट फरक पाउन सकिन्छ । झट्ट सुन्दा मूल्यमा ठूलो अन्तर नहुँदा फिचरमा पनि धेरै फरक नहोला भन्ने लाग्न सक्छ । तर, सिटको गुणस्तर, ह्वील साइजदेखि एडास फिचरसम्मको अन्तर पाउन सकिन्छ ।
थप पाइने फिचरले सुरक्षा प्रविधि, पार्किङमा सहजता, बढी ग्राउन्ड क्लियरेन्स, आरामदायी, ठूलो ह्वील, सिट भ्यान्टिलेसनसँगै प्रिमियम अनुभूती गर्न पाउने छन् । त्यसैले एलभी-३ भेरियन्ट रोज्नु बढी बुद्धिमत्ता हुनसक्छ ।

