अपडेट भएर आयो पल्सर एनएस ४००, थपिए यी फिचर

काठमाडौं । बजाजको ठूलो क्षमताको एनएस ४०० मोटरसाइकल अपडेट भएर आएको छ । बजाज अटोले भारतमा पल्सर सिरिज अन्तर्गतको सबैभन्दा शक्तिशाली मोडलमध्ये एक पल्सर एनएस ४०० लाई थप आधुनिक फिचरसहित बजारमा ल्याएको हो ।

कम्पनीले नयाँ एनएस ४०० मा नयाँ टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर थप्दै यसको टेक्नोलोजी प्याकेजलाई अपडेट गरेको हो ।

नयाँ टीएफटी भेरियन्टको सुरूवाती मूल्य भारतीय बजारमा १ लाख ९० हजार १५ भारु (एक्स-शोरुम) तोकिएको छ । यो पुरानो मोडलभन्दा १० हजार भारु धेरै हो ।

बजाजले पछिल्लो समय आफ्ना विभिन्न पल्सर मोडलमा पुरानो एलसीडी युनिटको स्थानमा नयाँ ५ इन्च टीएफटी इन्स्ट्रुमेन्ट क्लस्टर प्रयोग गर्दै आएको छ । पल्सर एन १६० बाट सुरू भएको यो अपडेट क्रमशः पल्सर क्लासिक १२५ र १५० हँदै एनएस ४०० मा पुगेको हो ।

मोटरसाइकलमा प्रयोग गरिएको नयाँ टीएफटी क्लस्टरले स्मार्टफोनसँग ब्लुटुथ र वाइफाइमार्फत कनेक्ट हुन सक्ने सुविधा दिन्छ । यसमार्फत मोटरसाइकलको डिस्प्लेमा गुगल म्याप्स वायरलेस रूपमा मिरर गर्न सकिन्छ । एण्ड्रोइड स्मार्टफोन प्रयोग गर्दा फोनको स्क्रीन अफ गरेर पनि गुगल म्याप्स प्रयोग गर्न सकिने सुविधा दिइएको छ ।

साथै, म्युजिक कन्ट्रोल, डकुमेन्ट स्टोरेज, ल्याप टाइमर तथा राइडिङ मोड परिवर्तन लगायतका सुविधा पनि टीएफटी डिस्प्लेबाटै प्रयोग गर्न सकिन्छ ।

नयाँ भेरियन्टमा रोड, रेन, स्पोर्ट र अफ–रोड गरी चारवटा राइडिङ मोड उपलब्ध छन् । यी मोडहरू नयाँ र थप प्रिमियम स्विच गियरमार्फत नियन्त्रण गर्न सकिन्छ ।

यसका अलावा नयाँ भेरियन्टमा पहिलेको जस्तै ३४९ सीसी, सिंगल सिलिण्डर, फोर भल्ब, लिक्विड–कुल्ड, डीओएचसी, इफआई इन्जिन प्रयोग गरिएको छ । यो इन्जिनले अधिकतम ४० पीएस पावर र ३३ एनएम टर्क उत्पादन गर्छ । इन्जिनलाई ६–स्पीड गियरबक्ससँग जोडिएको छ । साथै, अन्य फिचरहरू पनि पहिलेकै बराबर पाइन्छ ।

मोटरसाइकलमा यूएसबी पोर्ट, प्यानिक ब्रेक अलर्ट, अल एलईडी लाइटिङ, यूएसडी फ्रन्ट फोर्क, सिन्टर्ड ब्रेक प्याड र एड्जस्टेबल लिभर, स्लिपर क्लच, क्विक–सिफ्टर, इलेक्ट्रोनिक थ्रोटल लगायतका फिचरहरू छन् ।


Back_to_top