नेपाल नआउँदै बढ्ने भयो एथर रिज्टाको मूल्य

काठमाडौं । एथरले फ्यामेली स्कुटर रिज्टा सार्वजनिक गरेको केही समय पश्चात् नै मूल्य वृद्धि गर्ने भएको छ । नयाँ वर्ष २०२५ को मध्यसम्ममा नेपाल आउने तयारीमा रहेको रिज्टाको नेपाल नआउँदै मूल्य वृद्धि हुने भएको हो ।

भारतीय बजारमा हाल १ लाख १० हजार एक्स शोरुम मूल्यमा बिक्री हुँदै आएको रिज्टाको मूल्य ४ हजारदेखि ६ हजार भारतीय रुपैयाँले वृद्धि हुने भएको हो ।

एथर रिज्टा कम्पनीको सबैभन्दा कम मूल्यको स्कुटर हो । फ्यामेली स्कुटरको रुपमा सबैभन्दा ठूलो सिट भएको रिज्टा भारतीय बजारमा तीन भेरियन्टमा उपलब्ध छ ।

एथर रिज्टाले बजाज चेतक, टीभीएस आइक्यूव तथा ओला एस १ जस्ता स्कुटरसँग प्रतिस्पर्धा गरिरहेको छ ।

यस्तो छ स्कुटर

एथर रिज्टामा २.९ किलोवाट र ३.७ किलोवाट ब्याट्री भेरियन्टमा उपलब्ध छ । यो स्कुटरको रेन्ज क्रमशः १०५ र १२५ किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । यसको टप स्पीड ८० किलोमिटर प्रतिघण्टा रहेको छ ।

एथरले रिज्टामा ट्रयाक्सन कन्ट्रोल फिचरका साथै सबैभन्दा ठूलो सिट दिएको छ । योसँगै रिज्टा पहिलो ट्रयाक्सन कन्ट्रोल फिचर भएको स्कुटर बन्न सफल भएको छ ।

एथर रिज्टामा दुई राइड मोड दिइएको छ । यसमा रिभर्स मोड, हिल होल्ड असिस्ट, नयाँ सिंगल सबफ्रेम, लोअर सीट हाइट, टर्न बाई टर्न नेभिगेसन, गुगल म्याप नेभिगेसन, एलईडी हेडल्याम्प, स्लिम र्यापराउन्ड टेललाइट, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ३४ लिटर अन्डर सिट स्टोरेज, टीएफटी स्क्रीन, डिस्क ब्रेक जस्ता फिचर उपलब्ध छ ।


Back_to_top