यस्तो छ छिट्टै नेपाल आउने प्रोटोन ‘इमास-७’, मुख्य प्रतिस्पर्धी कुन ?

काठमाडौं । प्रोटोन ब्राण्डमा नेपाल आउने ‘इमास-७’ इलेक्ट्रीक एसयूभी मलेसियामा सार्वजनिक भएको छ । जगदम्बा मोटर्सले नेपाल ल्याउने इमास–७ जिलीले अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्दै आएको ग्यालेक्सी इ-५ नै हो भन्दा फरक पर्दैन ।

मलेशियन ब्राण्ड प्रोटोनमा जिली ग्रुपको ५१ प्रतिशत लगानी रहेको छ । त्यसैले आफ्नो ग्यालेक्सी इ-५ लाई कम्पनीले इमास–७ नामबाट प्रोटोनको ब्याचमा ल्याउन लागेको हो । दक्षिण एशियासहितका राइट ह्याण्ड ड्राइभ भएका देशमा प्रोटोन इमास-७ उपलब्ध हुनेछ ।

मलेशियामा हिजो सार्वजनिक भएको इमास-७ मोडल दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । कम्पनीले प्राइम र प्रिमियम गरी दुई भेरियन्टको नामाकरण समेत गरेको हो ।

दुबै भेरियन्टमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर दिइएको छ । यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास-७ ले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ ।

इमास-७ को भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ । प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिनेछ ।

इमास-७ एसयूभीमा टु स्पोक स्टेरिङ ह्वील, १०.२ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको सेन्टर इन्फोटेनमेन्ट स्कृन, १३.८ इन्चको हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर पाउन सकिन्छ ।

प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, पानारोमिक सनरुफ, २५६ कलरको एम्बीयन्ट लाइट, पावर टेलगेट जस्ता फिचर समेटेको छ । भेन्टीलेटेड एण्ड पावर फ्रन्ट सिट, १६ वटा स्पीकर र लेभल २ एडास फिचर यसमा दिइएको छ ।

सी सिग्मेन्ट एसयूभीको रुपमा बजारमा आएको इमास-७ को लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । २७५० एमएम लामो ह्वीलवेस रहेको एसयूभीमा १७३ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

मलेशियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु भएको इमास-७ नेपाली बजारमा समेत छिटै आउनेछ । नेपालमा बीवाइडी एटो-३ र ओमोडा ई-५ सँग सिधा प्रतिस्पर्धा गर्ने एसयूभीको मूल्य कति कायम हुन्छ, त्यो हेर्न भने रोचक हुनेछ ।


Back_to_top