काठमाडौं । बीवाइडी एटो-टुको बुकिङ खुला भएसँगै उपभोक्तको बलियो साथ पाइरहेको छ । नाइमा मोविलिटी एक्स्पोमा सार्वजनिक भएको एटो-टु चाडपर्वमा सबैभन्दा धेरै बिक्री भएको एसयूभी बन्न सफल भयो ।
बीवाइडी एटो-टुको सफलतासँग धेरै कुरा जोडिएका छन् । जसमा मूल्य, फिचर, बडी स्टाइल, बीवाइडीको ब्राण्ड नेम लगायतका कुराले निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिन्छ ।
नेपाली बजारमा बीवाइडी एटो-टुको धेरै चर्चा हुनुमा ग्राउण्ड क्लियरेन्सको भूमिका निकै ठूलो देखियो । यसमा रहेको २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्सले धेरैको आवश्यकता पुरा गरेको देखियो ।
ब्याट्री साइजको आधारमा पनि एटो-टु निकै उपयोगी देखियो । यसअघि नेपालमा अत्याधिक रुचाइएको एटो थ्री एड्भान्स मोडलकोभन्दा ठूलो ब्याट्री भएकाले यो ब्याट्री साइजका आधारमा पनि उत्कृष्ट रह्यो ।

एटोथ्री एड्भान्समा ४९ किलोवाट आवरको ब्लेड ब्याट्री रहेकोमा यसमा ५१ किलोवाटको ब्लेड ब्याट्री नै छ । पावर पनि १०० किलोवाटकै मोटरमा उपलब्ध छ । यसको पीकटर्क २९० न्यूटन मिटर छ, जुन अर्को बलियो पक्ष हो ।
सिंगल चार्जमा ३४५ किलोमिटर डब्लूएलटीपी रेन्ज दाबी गरिएको एटो-टु रेन्जको मामलामा पनि राम्रो देखिएको छ ।
बीवाइडीको ग्लोबल डिजाइन, सिग्नेचर बडी स्टाइल, सार्प एलईडी हेडल्याम्प, स्टाइलिस फ्रन्ट लुकले ग्राहक तान्ने नै भयो ।
एटो-टुको मूल्य निकै आकर्षक लाग्छ । बीवाइडीकै एटो थ्री एड्भान्स भन्दा १२ लाख ९१ हजार कम मूल्यको एटो-टु निकै ‘भ्यालु फर मनी’ लाग्छ । अहिले एटो-टुको मूल्य ४३ लाख ९९ हजार तोकिएको छ ।
मासिक किस्ता तिर्नेगरी लिँदा पनि झण्डै ४० हजार किस्ता तिर्दा पुग्ने भएको कारण उपभोक्तालाई थप सहज बनेको हो ।
अहिले बजारमा ब्याजदर ७ प्रतिशतमा जति पनि कर्जा पाउने अवस्था छ । ७ वर्ष भित्र तिर्नेगरी कर्जा लिन पाइन्छ । एटो-टु किन्ने योजना बनाउनेसँग सुरूमा डाउन पेमेन्ट बापत बुझाउनु पर्ने मूल्यको ४० प्रतिशतले हुन आउने १७ लाख ५९ हजार ६०० रुपैयाँ हुनुपर्छ ।
डाउन पेमेन्टपछिको २६ लाख ३९ हजार ४०० रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पाइन्छ । त्यसले अहिले चलेको ब्याजदरमा तिर्दा मासिक ३९ हजार ८३५ रुपैयाँ तिर्दा पुग्छ । तर, बजारमा ब्याजदर तलमाथि हुँदा भने किस्ता बापत बुझाउनु पर्ने रकम बढ्न वा घट्न सक्छ ।

