काठमाडौं । अटोमोबाइल व्यवसायलाई व्यवसाय मात्रै नमानी ग्ल्यामर पनि मान्ने गरिन्छ । बहुराष्ट्रिय कम्पनीका उत्पादन नेपाल ल्याएर विक्री गर्ने विभिन्न कम्पनी नेपालमा संचालित छन् ।
नेपालमा उत्पादनमूलक क्षेत्रमा लगानी गर्नेदेखि सेवा क्षेत्रमा काम गरिरहेका कर्पोरेट हाउसहरूको रोजाइमा अटोमोबाइल व्यवसाय पर्दै आएको छ । अहिले नेपालमा करिब २ दर्जन दुई पाङ्ग्रे, ४ दर्जन चार पाङ्ग्रे र एक दर्जन कमर्शियल गाडीका ब्राण्डहरू सक्रिय रहेका छन् ।
यति धेरै ब्राण्ड नेपाली बजारमा उपलब्ध रहे पनि सीमित ब्राण्डको कब्जामा व्यवसाय संचालन भइरहेको छ । अहिले कमर्शियल सेग्मेन्टमा टाटा, प्यासेन्जर सेग्मेन्टमा हुन्डाई, मारुती सुजुकी, किया र टाटा तथा दुई पाङ्ग्रे सवारीसाधनमा बजाज, होन्डा, यामाहा, टीभीएस र हिरो जस्ता ब्राण्डले ९० प्रतिशतभन्दा धेरै बजार ओगटेका छन् । यी चल्तीका ब्राण्ड नेपालमा नाम चलेका कर्पोरेट हाउसले ओगटेका छन् ।
सिप्रदी ट्रेडिङ
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ नेपालकै सबैभन्दा धेरै कारोबार गर्ने कम्पनी हो । सिद्धार्थ राणा, प्रभाकर समशेर र दिवाकर राणाको नामको अगाडिको अक्षरबाट सुरू भएको सिप्रदी ट्रेडिङले टाटाका कर्मशियल र प्यासेन्जर गाडी आयात र विक्री वितरण गर्दै आएको छ ।
कम्पनीले वार्षिक १० हजार यूनिट हाराहारी सवारीसाधन विक्री गर्दै आएको छ । कर्मशियल र लाइट कमर्शियल सेग्मेन्टमा टाटाको नजिक बसेर प्रतिस्पर्धा गर्ने अर्को ब्राण्ड अहिले नेपालमा छैन । कार सेग्मेन्टमा भने टाटा हुन्डाई र मारुती सुजुकी जस्ता ब्राण्डलाई पच्छ्याइ रहेको छ ।
एमएडब्ल्यू ग्रुप
मोरङ अटोवर्कस सीएनआइ अध्यक्ष समेत रहेका विष्णु अग्रवालको नेतृत्वमा अगाडि बढी रहेको संस्था हो । विशेषतः दुई पाङ्ग्रे, चार पाङ्ग्रे र हेभी इक्यूपमेन्टको क्षेत्रमा एमएडब्ल्यूले नेपाल ल्याएका ब्राण्ड अब्बल मानिन्छन् ।
कम्पनीले यामाहाका मोटरसाइकल तथा स्कुटर, अमेरिकी ब्राण्ड जीप, चेक ब्राण्ड स्कोडा, चिनियाँ ब्राण्ड फोटोन र चांगन, हेभी इक्यूपमेन्टमा जेसीबीको विक्री वितरण गर्दै आएको छ ।
लक्ष्मी ग्रुप
हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल मार्फत हुन्डाईका गाडी नेपालमा आधिकारिक विक्री सुरू गरेको कम्पनी प्यासेन्जर कारमा अग्रणी कम्पनी हो । साथै, कम्पनीले एसएमएल इसुजु र विश्व प्रसिद्ध लग्जरी ब्राण्ड बीएमडब्ल्यूका कार नेपालमा आधिकारिक वितरक भएर ल्याइरहेको छ ।
लक्ष्मी ग्रुपले हिरो इलेक्ट्रीकमार्फत दुई पाङ्ग्रे व्यवसायमा पनि हात हालेको छ भने हेभी इक्यूपमेन्ट पनि विक्री गर्दै आएको छ ।
विशाल ग्रुप
नेपालको आयात व्यापारमा अग्रणी समूहको रूपमा परिचय बनाएको विशाल ग्रुपले सवारीसाधन, त्यसमा पनि चार पाङ्ग्रे ब्राण्डको आयातमा थुप्रै ब्राण्ड ओगट्न सफल भएको छ । कम्पनीले जर्मन ब्राण्ड फक्सवागेन, ब्रिटिस ब्राण्ड एमजी, फ्रेन्च ब्राण्ड रेनो, चिनियाँ ब्राण्ड ग्रेटवाल, जापानी ब्राण्ड माज्दा जस्ता ब्राण्डको आधिकारक वितरक भएर काम गरिरहेको छ ।
दुई पाङ्ग्रे ब्राण्ड सुजुकी र हेभी इक्यूपमेन्टमा कोभेल्को ल्याएर विशाल ग्रुपले विक्री वितरण गर्दै आएको छ ।
जगदम्बा ग्रुप
महिन्द्राको दुई पाङ्ग्रेसाधनबाट अटोमोबाइल बजारमा प्रवेश गरेको जगदम्बा मोटर्सको सबैभन्दा चल्तीको ब्राण्ड टीभीएस हो । सन् २०१५ मा टीभीएस लिएसँगै यो समूहले आक्रमक लगानीको योजना बनाएर काम गरेको थियो । अहिले टीभीएस नेपालको अब्बल कम्पनी बनीसकेको छ ।
जगदम्बा मोटर्सले अहिले प्रोटोन ब्राण्डका कार पनि नेपाल ल्याएर विक्री सुरू गरेको छ । निकट भविष्यमा नै कम्पनीले प्रिमियम कार ब्राण्ड नेपाल ल्याउने तयारी गरिरहेको छ ।
ज्योति ग्रुप
नेपालको पुरानो औद्योगिक घराना मध्येको एक ज्योति समूहले चार पाङ्ग्रे र दुई पाङ्ग्रे ब्राण्डमा होन्डाका सवारीसाधन विक्री गर्दै आएको छ । साथै, हिरो होन्डा, एमभी अगुष्टा जस्ता ब्राण्ड पनि ज्योति समूहले विक्री गर्दै आएका ब्राण्ड हुन् । ज्योति समूहले विगत ५२ वर्षदेखि नेपालमा सवारीसाधन विक्री गर्दै आएको छ ।
सारडा ग्रुप
सारडा ग्रुपले सन् २०१३ बाट अटोमोबाइल व्यापारमा हात हालेको हो । सुरूमा डाट्सन र त्यसपछि निसान ब्राण्डका गाडी विक्री गर्दै आएको सारडा ग्रुपले केही समयअघि चेरी ब्राण्ड नेपाल ल्याएको छ ।
विशेषतः उद्योग, कृषि र व्यापार लगायतका व्यवसायमा सक्रिय सारडा समूह अहिले तीन ब्राण्डको साथ अटोमोबाइल व्यवसायमा सक्रिय रहेको छ ।
गोल्छा अर्गनाइजेशन
गोल्छा अर्गनाइजेशन नेपालमा गाडी उत्पादनको इतिहास बोकेको एउटा मात्रै घराना हो । नपालमै चारपाङ्ग्रेसाधन बनाएको अनुभव, मोटरसाइकल नेपालमै एसेम्बल गर्ने पहिलो कम्पनी, इलेक्ट्रीक रिक्सा उत्पादन गर्ने कम्पनी, फोर्ड, बजाज, केटीएम, हस्कभर्ना, सिट्रोन, प्यूजो जस्ता चर्चित ब्राण्डको आधिकारिक विक्रेता गोल्छा अर्गनाइजेशन भित्रै रहेको छ ।
अग्नी ग्रुप
नेपालको अटोमोबाइल क्षेत्रमा निकै सफल ग्रुपको रूपमा परिचय बनाएको अग्नी ग्रुपले महिन्द्राका एसयूभी, इलेक्ट्रीक यूनिट, कर्मशियल यूनिट र जावा ब्राण्डको मोटरसाइकल आधिकारिक रूपमा विक्री वितरण गर्दै आएको छ । अग्नी समूह अहिले नेपालमा धेरै सवारीसाधन विक्री गर्ने दोस्रो ब्राण्ड हो ।
यसका अलावा ठूला समूहहरू सीजी, आइएमई ग्रुप, भ्याली कोल्ड स्टोर, कन्टिनेन्टल ट्रेडिङ, बतास समूह, वैद्ययज् अर्गनाइजेशन जस्ता व्यवसायीक फर्महरू अटोमोबाइल व्यवसायमा सक्रिय रहेका छन् ।

