काठमाडौं । विश्व अटोमोवाइल विद्युतीय वा हाइड्रोजन फ्यूलसेल मध्ये कुन भन्ने बहषमा प्रबेश गरेको छ । आजभन्दा १० वर्ष अगाडि अपवादमा सुनिने विद्युतीय साधन अहिले सबै उत्पादकको केन्द्रमा पर्न सफल भएको छ ।
पेट्रोलियम पदार्थमा बढ्दो परनिर्भरता, बढ्दो प्राकृतिक प्रकोप, बढ्दो तापक्रम र विग्रदो मानव स्वास्थ्यको कारण विश्वभर क्लीन इनर्जी भेहिकलको चर्चा चुलिएको हो । त्यसमा उत्पादकले पनि अर्बौ डलर खन्याउन थालिसकेका छन् ।
विश्वभर अहिले गाडी उत्पादनमा लागेका कम्पनीहरु र नयाँ स्टाटअप कम्पनीहरुको प्रयास नै विद्युतीय साधनको उत्पादन र उपभोग बढाउने विषयमा केन्द्रित रहेको छ । यसकै पछिल्लो उदाहरण भारतमा चलिरहेको अटो एक्स्पो २०२३ लाई लिन सकिन्छ ।
भारतमा आयोजना हुने अटो एक्स्पो दक्षिण एसियामा हुने सबैभन्दा ठूलो सवारीसाधनको कुम्भ मेला हो । यो एक्स्पोमा दुई पाङ्ग्रेदेखि ठूला हेभी कर्मशियलसम्मका सवारीसाधन प्रदर्शनी हुने गर्छन् । विगत एक दशकमा आयोजना भएको अटो एक्स्पोलाई मात्रै मिहिन तरिकाले नियाल्ने हो भने यस पटक विद्युतीय र हाइड्रोजन केन्द्रित प्रोडक्ट मात्रै कन्सेप्टको रुपमा समेटिए ।

विगतको तुलनामा निकै कम संख्यामा कार र ठूला कमर्शियल गाडी निर्माता सहभागि रहेको अटो एक्स्पोमा कुनै पनि ब्राण्डले नयाँ कम्बस्चन इन्जिन युक्त कारको कन्सेप्ट देखाएनन् । जुन मोटरसाइकल सेग्मेन्टमा पनि लागु भएको थियो । अधिकांश ठूला निर्माताले आफ्नो नयाँ इन्जिन इनोभेसनमा लगानी नगर्ने घोषणा यसअघि नै गरेको कारण नयाँ कन्सेप्ट नआएको प्रस्टै देखिन्थ्यो ।
विगत केही वर्षदेखि नयाँ मोडल ल्याउन काम गर्दै आएको मारुती सुजुकीले क्रसओभर फ्रोनक्स मोडल सार्वजनिक गरेको थियो । तर, उसको सम्पूर्ण शक्ति ईभीएक्स इलेक्ट्रीक कन्सेप्ट देखाउनमा थियो । मारुतीले आफुलाई ईभी उत्पादनमा निकैपछि मात्रै जोडेको हो ।
टाटाले पनि ईभी र कम्बस्चन दुबै इन्जिनमा आउने कर्भ कुप्पे एसयूभी देखाएपनि नयाँ कन्सेप्टको रुपमा कम्बस्चन मोडल देखाएन । उसले आफ्नो सिरिया कन्सेप्ट र अभिन्या कन्सेप्टमा फोकस गरेको देखियो । हाइड्रोज फ्यूलसेलदेखि सिएनजी भेहिकलसम्म समेट्न कोशिष गरेको टाटाको पहिलो च्वाइस ईभी नै थियो ।

भारतकै दोस्रो ठूलो कार निर्माता हुन्डाईले पनि कम्बस्चन इन्जिनलाई प्राथमिकतामा राखेन । अटो एक्स्पो सुरु हुनुअघि थुप्रै नयाँ मोडल सार्वजनिक गर्ने अपेक्षा गरिएको हुन्डाईले ईभीमा मात्रै फोकस गरेको देखियो । कम्पनीले तयार भएका इलेक्ट्रीक कार आयोनीक फाइभ र सिक्स तथा उड्ने ट्याक्सीको कन्सेप्ट सार्वजनिक गरेर धेरै अबलोकनकर्तालाई आफुतिर आकर्षित गर्ने प्रयास गरेको देखियो ।
अर्को कोरियन ब्राण्ड कियाले पनि कम्बस्चनमा नयाँ कन्सेप्ट कार ल्याएन । उसले किया नाइनको कन्सेप्ट सार्वजनिक गरेको थियो । साथै, कम्पनीले आफ्नो विक्री भइरहेका मोडललाई प्राथमिकतामा राखेर देखायो ।
बीवाइडीले आफ्नो प्रिमियम सेडान सिल देखायो । अन्य मोडल एटो थ्री र अल न्यू इ सिक्सको साथमा आफ्नो ३.० ओपन सोर्स प्लेटफर्म सार्वजनिक गरेर अबलोकनकर्तालाई तान्ने प्रयास गरेको खेदिन्थ्यो । यसका अलावा केही स्टार्टअप कम्पनीले पनि इलेक्ट्रीक कार देखाएका थिए ।

प्रिमियम कार निर्माता लेक्ससले दुई इलेक्ट्रीक कन्सेप्ट कार देखाउँदा कम्बस्चनमा कुनैपनि कन्सेप्ट कार देखाएन । आइसर, टाटा, म्यान, स्वीस, अशोक लेलैण्ड जस्ता ब्राण्डले ईभी कन्सेप्ट र फाइनल प्रोडक्ट देखाउँदा कम्बस्चन इन्जिनमा कुनै पनि कन्सेप्ट बाहिर ल्याएनन् ।
दुई पाङ्ग्रेमा एकआध ब्राण्ड छाडेर सबैले इलेक्ट्रीक कन्सेप्ट देखाएका छन् । स्टार्टअप कम्पनीहरुले करिब ४२ वटा स्टलमा आफ्ना उत्पादन शोकेस गरेर अबको भविष्य विद्युतीय सवारीसाधन रहेको संदेश दिएको देखियो ।

समग्रमा दर्जन बढी इलेक्ट्रीक कारको कन्सेप्ट आउँदा कम्बस्चनमा एउटै पनि आएन । हाइड्रोजन फ्यूलसेलमा पनि ठूला हेभी कमर्शियल ट्रकहरु निर्माण कम्पनीहरु जुटेको देखियो । कार सेग्मेन्टमा हुन्डाई र टोयोटाले हाइड्रोजन फ्यूलसेललाई प्राथमिकता दिएर शोकेस गरेका छन् । यसले समग्रमा वातावरणमैत्री साधन उत्पादनमा निर्माताहरु लागेको प्रस्ट देखिन्थ्यो ।


