जीप एभेन्जरले जित्यो ‘युरोपियन कार अफ द इयर’, चाँडै नेपाल आउन सक्ने

काठमाडौं । जीपको पहिलो इलेक्ट्रीक कार एभेन्जरले सन् २०२३ का लागि ‘युरोपियन कार अफ द इयर’को अवार्ड जितेको छ । विशेष कार्यक्रममा मतदानबाट उत्कृट सावित हुँदै एभेन्जरले अवार्ड जितेको हो ।

मतदान कार्यक्रममा कुल ३२८ मत प्राप्त गर्दै एभेन्जर पहिलो भएको हो । यस अवार्ड कार्यक्रममा करिब दुई दर्जन देशका मान्यता प्राप्त अटोमोटिभ पब्लिकेसनका पत्रकारहरुको प्यानलले यो पुरस्कारका लागि मतदान गरेका थिए ।

एभेन्जर इलेक्ट्रीक एसयूभीमा अग्रणी स्थान बनाउन सक्ने जीपको एक हिस्सा बन्ने छ । जीपले एभेन्जरलाई गत अक्टोबरमा पेरिस अटो शोमा देखाएको थियो । यसको लम्बाई १३.४ फिट मात्र रहेको छ ।

जीपका अनुसार एभेन्जरले यसको आकारको बावजुद पनि अफरोड क्षमतामा कुनै सम्झौता नगरेको जनाएको छ । यसमा ५४ किलोवाटको ब्याट्री प्याक रहेको छ । यसले अधिकतम ४०२ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । फ्रन्ट ह्वील ड्राइभ रहेको यो कारले १५२ हर्स पावर प्रदान गर्ने अनुमान गरिएको छ ।

यो इलेक्ट्रीक कार अमेरिकामा बिक्रीका लागि उपलब्ध छैन । यसलाई युरोप र उत्तर अफ्रिकाका केही देशमा मात्र उपलब्ध हुने जनाइएको छ । टेक क्रन्चका अनुसार निर्माताले सन् २०३० सम्ममा युरोपमा विद्युतीय सवारी साधनको सम्पूर्ण बिक्री र उत्तर अमेरिकामा पनि कम्तीमा आधा बिक्री गर्ने लक्ष्य राखेको छ ।

जीप रेकन र वागोनर एस अमेरिकी सवारी खरिदकर्ताका लागि उपलब्ध हुने पहिलो पूर्ण विद्युतीय जीपको एसयूभी हुने बताइन्छ । तर, तिनीहरु सन् २०२४ सम्म उत्पादनमा जाने छैनन् ।

जीपले नेपाली बजारको लागि भने एभेन्जर दिने बताएको आधिकारीक विक्रेता एमएडब्लू लाइफले जनाएको छ । सम्भवत सन् २०२३ को अन्त्यसम्ममा एभेन्जर नेपाल आउने छ ।


Back_to_top