सिट्रोन सीथ्री ईभीकाे टिजर भिडियो सार्वजनिक

काठमाडौं । भारतमा इन्ट्री-लेभल ईभी सेग्मेन्टमा अवसर देखेको सिट्रोनले चाँडै नै ह्याचब्याक सीथ्रीमा आधारित आफ्नो पहिलो इलेक्ट्रीक कार छिटै लन्च गर्ने भएको छ । कम्पनीले आफ्नो नयाँ सिट्रोन इलेक्ट्रीक ई–सी ३ को टिजर भिडियो समेत सार्वजनिक गरेको छ।

कम्पनीको स्मार्ट कार प्रोग्रामको एक भागको रूपमा सिट्रोन सी ३ इलेक्ट्रीक कार लन्च गर्ने भएको हो। जसलाई सी–क्यूब्ड प्रोग्राम पनि भनिएको छ । यो योजना अन्तर्गत सिट्रोनले किफायती मूल्यमा मल्टिपल कम्प्याक्ट कारहरू सार्वजनिक गर्नेछ । यी सम्पूर्ण कार सिट्रोनको सीएमपी प्लेटफर्ममा आधारित रहेर निर्माण गर्ने जनाएको छ । भारतमा नै निर्माण गरिएको यस सिट्रोन कारले पनि निर्यात बजारलाई लक्षित गर्नेछ।

किफायती मूल्यमा सार्वजनिक हुन लागेको सिट्रोनको सी ३ इलेक्ट्रीकको रेन्ज टाटाको टियागो ईभी ह्याचव्याक नजिक हुने सम्भावना छ । सी ३ र टियागो दुवै इलेक्ट्रीक कार भारतमा सुरुआती मूल्य १० लाखदेखि १२ लाखकाे विचमा लन्च हुने अपेक्षा गरिएको छ।

यसमा अधिकांश भागहरू पेट्रोलबाट संचालन हुने सी ३ को जस्तै हुनेछ । यसमा १० इन्चको फराकिलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड उपलब्ध रहेका छन् ।

सेफ्टी प्याकेजमा डुअल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन इम्मोबिलाइजर, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिटिभ अटो डोर लक लगायत पाउन सकिन्छ ।

सी ३ इलेक्ट्रीकपछि सिट्रोनले भारतमा अन्य धेरै नयाँ उत्पादनहरू लन्च गर्ने योजना बनाएको छ। यसमा एमपीभी र सीयूभी जस्ता ठूला गाडीहरू समावेश हुनेछन्। हाल सिट्रोन कारहरू तमिलनाडुको चेन्नई नजिकै तिरुवल्लुर प्लान्टमा निर्माण भइरहेको छ।

 


Back_to_top