दशैंमा गाडी किन्नेलाई ब्याजदर फाइदा, यी हुन् सस्तोमा ऋण दिने बैंक

काठमाडौं । चाडपर्व नजिकिएसँगै गाडी बिक्रेताहरूले निकै लोभलाग्दो अफर दिइरहेका छन् । साथै, गाडी किन्न चाहने ग्राहकलाई लक्षित गर्दै बैंकहरूले पनि धमाधम सस्तो ब्याजदरको कर्जा योजना ल्याउन थालेका छन् ।

अहिले वाणिज्य बैंकहरूको औषत आधारदर (बेसरेट) ७.९२ प्रतिशत रहेको छ । आधार दरमै वा त्यसमा १ प्रतिशतसम्म प्रिमियम जोडर बैंकहरूले अटोकर्जा उपलब्ध गराउन थालेका छन् ।

बैंकहरूले घोषित रूपमै ७.७७ प्रतिशतदेखि नै गाडी कर्जा उपलब्ध गराएका छन् । सरकारी राष्ट्रिय वाणिज्य बैंकले न्यूनतम ५ वर्षसम्म ब्याजदर परिवर्तन नहुनेगरी ७.७७ प्रतिशत ब्याजदर लगाएको छ ।

अहिले ग्लोबल आइएमई बैंकले विद्युतीय कारको लागि ५ वर्षसम्म परिवर्तन नहुनेगरी ७.९९ प्रतिशत ब्याजदर तोकेको छ । बैंकले पेट्रोल कार किन्नेलाई भने ८.४९ प्रतिशत ब्याजदर लाग्ने स्कीम ल्याएको छ ।

नबिल बैंकले भने दुवै इन्धनबाट चल्ने गाडीमा समान ब्याजदर लगाएको छ । नबिलले ५ वर्षसम्म परिवर्तन नहुने कर्जा ८.२५ प्रतिशत ब्याजदरमा र ७ वर्ष नै परिवर्तन नहुने कर्जा ८.४९ प्रतिशत ब्याजदरमा उपलब्ध गराएको छ ।

लक्ष्मी सनराइज बैंकले भने ८.९९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म परिवर्तन नहुनेगरी कर्जा सुविधा उपलब्ध गराउने जनाएको छ । सानिमा बैंकले पनि ८.४९ प्रतिशत ब्याजदरमा ७ वर्षसम्म परिवर्तन नहुनेगरी कर्जा सुविधा उपलब्ध गराउने भएको हो ।

यसका अलावा अन्य बैंक तथा वित्तीय संस्थाले पनि सरल ब्याजदरमा अटो कर्जा उपलब्ध गराउन थालेका छन् । अधिकांश बैंकले बेस रेटमा १ प्रतिशतभन्दा कम नै प्रिमियम जोडेर कर्जा दिन थालेका हुन् ।

अहिले घट्दो बजारमा आफ्नो ब्याजदर लक गरेर सवारीसाधन किन्न पाउने भएको कारण चाडपर्वमा धेरै साधनको किन्नेहरूले फाइदा उठाउन सक्ने देखिएको छ ।


Back_to_top