९ प्रतिशत व्याजदरमा अटो लोन, यस्तो छ ठूला ६ बैंकको व्याजदर

काठमाडौं । दशैं-तिहार अघिसम्म ८ देखि १० प्रतिशतसम्म व्याजदरमा कार किन्न चाहने मानिसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन सक्ने अवस्था थियो । तर, अचानक बजारमा देखिएको लगानी योग्य रकमको अभावले बैंकहरुले कर्जा दिनै बन्द गरे । तर, अहिले पनि केही बैंकले ९.१ प्रतिशत व्याजदरदेखि नै कर्जा उपलब्ध गराउँदै आएका छन् ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक अहिले सबैभन्दा सस्तो व्याजदरमा अटो कर्जा उपलब्ध गराउने बैंक भएको छ । बैंकले ९.१ प्रतिशत व्याजदरमा नै कर्जा उपलब्ध गराउँदै आएको छ ।

विस्तारै वित्तीय प्रणालीमा निक्षेप आउन सुरु गरेको भएपनि अझै सहज वातावरण भने बनिसकेको छैन । यद्यपी क्रमिक रुपमा बैंकहरुले कर्जा प्रबाह सुरु गरेका छन् । अहिले बजारमा मुद्दती निक्षेपमा बैंकहरुले १० प्रतिशतसम्म व्याज दिइरहेका बैंकले रेमिट्यान्स खातामा भने ११ प्रतिशतसम्म व्याज दिएका छन् ।

बैंकहरुको आधार व्याजदर (वेस रेट) ६.५ देखि १० प्रतिशत पुगिसकेको छ । यस्तोमा ठूला बैंकहरुले अहिलेपनि ९.१ प्रतिशतदेखि १४ प्रतिशत व्याजदर तोकेर कर्जा उपलब्ध गराउँदै आएका छन् ।

एकै पटक सबै रकम तिरेर गाडी किन्न सम्भव नहुँने हुँदा धेरै मानिसले बैंकिङको सहारा लिने गरेका छन् । बैंकहरुको लागि पनि निजी प्रयोजनको कार खरिदमा दिइने कर्जा निकै आकर्षक रहेको छ ।

उपभोक्ताको आय स्तर हेरेर वित्तीय संस्थाहरुले आवश्यक कागजात पुरागरी वेस रेटमा निश्चित प्रिमियम जोडेर सवारी कर्जा उपलबध गराउने गरेका छन् ।

नेपालमा रहेका सबै वित्तीय संस्थाले सवारी कर्जाको व्यवस्था गरेका छन् । ती मध्ये नेपालका सबैभन्दा ठूला र धेरै रकम अटो कर्जामा दिने ग्लोबल आइएमई, एनआईसी एशिया, नविल, एभरेष्ट, स्टायडर्ड चाटर्ड र राष्ट्रिय वाणिज्य बैंकहरुले आकर्षक दरमा अटो लोन दिदै आएका छन् ।

यी बैंक मध्ये सबैभन्दा सस्तो सवारी कर्जा पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको छ । राष्ट्रिय बाणिज्य बैंकपछि सबैभन्दा सस्तो अटो लोन स्टायडर्ड चाटर्डले उपलब्ध गराउँदै आएको छ । बैंकले १० प्रतिशत भन्दा कम व्याजदरमा नै कर्जा दिदै आएको छ । यसैगरी, एभरेष्ट बैंकले प्रिमियम जोडर १०.४९ देखि ११.४९ प्रतिशतसम्म ब्याजदर तोकेको छ ।

नविल बैंकको अटो कर्जा करिब ११ प्रतिशत व्याजदरमा उपलब्ध गराउँदै आएको छ । बैंकले १०.९९ प्रतिशतको स्कीम नै संचालन गरिरहेको छ । ग्लोबल आईएमई बैंकले न्युनतम ११.९९ देखि १३.९९ सम्म ब्याजदर तोकेर सवारी कर्जा दिने जनाएको छ ।

ठूला बैंकमा सबैभन्दा महंगो व्याजदर एनआइसी एशिया बैंकको छ । बैंकले प्रिमियम सहित १३.८९ प्रतिशत व्याजदर तोकेर कर्जा स्कीम संचालन गरिरहेको छ ।


Back_to_top