अटो शोमा गाडी किन्नेलाई लोन दिन १२ वित्तीय संस्था, कुन बैंकको व्याजदर कति

काठमाडौं । नाडा अटो शो सुरु हुन ६ दिन मात्र बाँकी रहेको छ । यस्तोमा अटो शोमा सहभागि कम्पनीहरुलाई आफ्नो प्रडक्ट प्रदर्शनी गर्न निकै हतारो भइरहेको छ । केही कम्पनीहरु आफ्नो नयाँ मोडलको पर्खाइमा छन् भने केही कम्पनी आफ्नो नयाँ मोडल नाडा अगाडि नै सार्वजनिक गर्न लागि परेका छन् ।

यस्तोमा यी सवारीसाधन किन्न चाहने ग्राहकलाई कर्जा दिने बैंकहरुले पनि आफ्नो किसिमको तयारी गरिरहेका छन् । गाडी बिक्रेता कम्पनीहरुले त नाडा अटो शो तथा दशैं तिहार अफर सुरु गरिसकेका छन् । यस्तोमा बैंकहरु पनि ऋण दिन तयारी अवस्थामा रहेका छन् ।

अटो शोमा १२ वटा वित्तीय संस्थाहरुले भाग लिदैछन् । उनीहरुले गाडी किन्ने ग्राहकलाई त्यहीबाट कर्जाको प्रकृया सुरु गर्नेगरि आफ्नो स्टल राख्ने छन् । अहिले नेपाल राष्ट्र बैंकले तोकेको सीमा अनुसार इलेक्ट्रीक गाडीमा ८० प्रतिशत र कम्बस्चन इन्जिन युक्त गाडीमा ५० प्रतिशतसम्म बैंकहरुले कर्जा प्रबाह गर्न सक्ने छन् । 

यस्तोमा अटो शोमा सहभागि हुने कम्पनी र उनीहरुले ल्याउन सक्ने संभावित व्याजदरलाई हामीले यहाँ उल्लेख गरेका छौं । बैंकहरु पनि आफूले वेष्ट रेट दिने दाबी गर्दै अटो शोको दिन नै व्याजदर जानकारी दिने बताउँछन् । 

यद्यपी हामीले उनिहरुसँग गरेको कुराकानीको आधारमा संभावित व्याजदरलाई यहाँ उल्लेख गरेका छौं । 

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले अटो शोलाई मध्यनजर गर्दै विशेष प्रडक्ट ल्याउने जनाएको छ । बैंकले अहिले सामान्य तया १२ देखि १३ प्रतिशत व्याजदरमा अटो कर्जा उपलब्ध गराउँदै आएको छ । बैंकको आधार दर १०.३७ प्रतिशत रहेकाले बैंकले अटो शोमा १२ प्रतिशतभन्दा कम व्याजदरमा अटो लोन दिन सक्ने छ । 

लक्ष्मी बैंक

हरेक वर्ष अटो शोमा लक्ष्मी बैंकले केही न केही अफर दिदै आएको छ । यस्तोमा यसपटक पनि अटो शोमा बैंकले व्याजदर १२ प्रतिशतभन्दा कम नै राखेर ल्याउने देखिएको छ । अहिले प्रडक्टको वर्क आउट भइरहेको र नयाँ केही आउने बैंक स्रोतले मेरोअटो लाई जानकारी दिएको छ । अहिले बैंकको आधार दर १०.३१ प्रतिशत छ यस्तोमा बैंकले ११.५ प्रतिशत भन्दा कम व्याजदरमा अटो लोन अफर गरे अनौठो हुने छैन । 

एभरेष्ट बैंक

एभरेष्ट बैंकले केही समय अगाडि घर तथा गाडी कर्जाको स्कीम नै संचालन गरेको थियो । यस्तोमा नाडा अटो शोमा सहभागि भएको बैंकले ९.५ प्रतिशत व्याजदरमा लोन पाउने स्कीम ल्याउन सक्ने संभावना रहेको छ । अहिले बैंकको आधार दर ८.१२ प्रतिशत रहेको छ । यस्तोमा गाडी किन्ने ग्राहकले एभरेष्ट बैंकको तर्फबाट निकै राम्रो रेटमा कर्जा पाउन सक्ने अवस्था रहेको छ । 

एनआइसी एसिया बैंक

एनआइसी एसिया बैंकले केही अघि चमत्कारीक कर्जा ल्याएर निकै चर्चा बटुलेको थियो । बैंक यसपटकको नाडा अटो शोमा सहभागी भएकाले उसलेपनि कुनै चमत्कारीक योजना अटो शोमा ल्याउन सक्ने छ । अहिले बैंकको आधार दर ९.४८ प्रतिशत रहेको छ । यस्तोमा बैंकले आक्रमक लगानी गर्ने बाटो समाएको खन्डमा १०.५ देखि ११ प्रतिशत हाराहारीमा कर्जा दिन सक्ने देखिन्छ । 

नबिल बैंक

नबिल बैंक अत्यन्त कम आधार दर भएको बैंक मध्यको एक हो । अहिले बैंकको आधार दर ८.०९ प्रतिशत रहेको छ । यस्तोमा नबिल बैंकले सबैभन्दा सस्तोमा गाडी कर्जा ल्याउन सक्छ । बैंकले इलेक्ट्रीक गाडीमा ९.९९ प्रतिशतमा कर्जा दिइरहेकाले सोही दरमा अटो लोन आउन सक्ने अनुमान गरिएको छ । 

जनता बैंक

यसपटकको अटो शोमा रहेको अर्को बैंक हो जनता । जनता बैंकको आधार दर ९.९५ प्रतिशत रहेको छ । यस्तोमा बैंकले गाडीमा आक्रमकरुपमा कर्जा दिन चाहेको हो भने बैंकले ११ प्रतिशतभन्दा कम व्याजदरमा अटो लोनको स्कीम ल्याउने छ । 

हिमालयन बैंक

हिमालयन बैंक पनि आक्रमक अटो कर्जा स्कीम ल्याउन सक्ने बैंकमा पर्छ । बैंकको आधार दर ९.०५ प्रतिशत रहेको छ । यस्तोमा बैंकले ११ प्रतिशतभन्दा कम व्याजदरमा अटो लोन दिन सक्ने देखिएको छ । 

बैंक अफ काठमाण्डू

बैंक अफ काठमाण्डूले गाडी खरिद गर्ने ग्राहकलाई विशेष अफर दिन सक्ने छ । बैंकले आधार दरमा ०.५ प्रतिशत जोडर कर्जा प्रबाह गर्ने सक्ने भनेकाले बैंकको अफर अत्यन्त राम्रो आउने देखिएको हो । बैंकको आधार दर ९.९८ प्रतिशत रहेको छ । यसो हुँदा बैंक अफ काठमाडूबाट ऋण लिएर गाडी किन्नेले १०.५ प्रतिशत हाराहारीमा कर्जा पाउने देखिन्छ । 

सिभिल बैंक

सिभिल बैंकको आधार दर ११.११ प्रतिशत छ । बैंकले नाडा अटो शोमा विशेष अफरको रुपमा १२ प्रतिशत व्याजदरमा कर्जा अफर गर्न सक्ने देखिएको छ । 

स्ट्याण्डर्ड चार्टर्ड बैंक

सधै गाडी कर्जा कम मूल्यमा उपलब्ध गराउँदै आएको स्टायडर्ड चार्टड बैंकले ९ प्रतिशत हाराहारी व्याजदरमा कर्जा अफर गर्ने देखिएको छ । पहिले भन्दा बैंकको आधार दर अहिले अल्लि बढी रहेकाले बैंकको व्याजदर केही बढ्ने भएको हो । 

सानिमा बैंक

सानिमा बैंको आधार दर ९.३४ प्रतिशत रहेको छ । यसरी हेर्दा बैंकले अटो शो अफर भन्दै ११ प्रतिशत व्याजदरमा नयाँ अफर दिन सक्ने छ । 

सांग्रिला डेभलपमेन्ट बैंक

सांग्रिला नाडा अटो शो २०१९मा सहभागी हुने एक मात्र विकास बैंक हो । उसको आधार दर ११.६ प्रतिशत रहेको छ । यस्तोमा बैंकले केही प्रिमियम थप गरेर १२ प्रतिशतमा अटो कर्जा अफर गर्न सक्ने छ । 


Back_to_top