काठमाडौं । अन्तर्राष्ट्रिय अटो बजारमा टोयोटा कम्पनीले ९.२ प्रतिशत हिस्सा ओगट्दै सन् २०१७ को सबैभन्दा धेरै बिक्ने ब्रान्ड बनेको छ । यो टोयोटा सिङ्गल ब्रान्डतर्फबाट पहिलो स्थानमा आएको हो । यदि ग्रुपको मार्केट सेयर हेर्ने हो भने टोयोट तेस्रो स्थानमा आउँछ ।
ब्रान्डअनुसारको मार्केट सेयरमा दोस्रो स्थानमा फक्सवागेन रहेको छ । उसले सन् २०१७ मा ७.२ प्रतिशत हिस्सा लिँदा तेस्रो स्थानमा रहेको फोर्डले ६.५ प्रतिशत हिस्सा ओगट्न सफल भएको छ ।
दुई जापानीज कम्पनी निशान र होन्डाले समान ४.५ प्रतिशत सेयर मार्केट हात परेका छन् । यस्तै, कोरियन मोर्टस् उत्पादक कम्पनी हुन्डाईले ४.७ प्रतिशत र अमेरिकी कार उत्पादक सेभ्रोलेले ४.४ प्रतिशत हिस्सा आफ्नो पोल्टामा पार्न सफल भएका छन् ।
हुन्डाईको अर्को कम्पनी कियाले ३ प्रतिशत, फ्रेञ्च मोटर कम्पनी रेनोले २.८ र जर्मन प्रसिद्ध ब्रान्ड मर्सिडिजले २.७ प्रतिशत बजार कब्जा गर्न सफल भएको छ । त्यस्तै, फेञ्च कम्पनी पुँजी र जर्मन लक्जरी कार निर्माता कम्पनी बीएमडब्ल्यूले २.२ प्रतिशत बजार हिस्सा लिन सफल भएका छन् । अन्तर्राष्ट्रिय सेयर बजारमा फक्सवागेन ग्रुपअन्तर्गतको अडीले २ प्रतिशत क्षेत्र ओगट्दा भारतीय कार उत्पादक कम्पनी मारुती र जापानीज कार उत्पादक माज्दाले १.७ प्रतिशत हिस्सा लिएका छन् ।
यस्तै, इटलियन ब्रान्ड फियातले १.७ प्रतिशत, जापानीज सुजुकीले १.६ प्रतिशत बजारमा कब्जा जमाएका छन् । अन्तर्राष्ट्रिय बजारमा निक्कै ठूलो हिस्सा ओगटेको अटो बजारअन्तर्गत, बुइक र जीपले बराबरी १.५ प्रतिशत क्षेत्र ओगटेका छन् ।
यी २० बटा ब्रान्डले विश्व कार बजारको करिब ६६ प्रतिशत बजार हिस्सा कब्जा गरेका छन् । अन्य ब्रान्डले ३४ प्रतिशत बजार हिससा ओगटेका छन् ।
यी देशमा बन्छ, सबैभन्दा धेरै कार
विश्वमा नै सबैभन्दा बढी युनिट कार उत्पादन गर्ने देश चीन हो । चीनमा २०१७ मा २ करोड ९० लाख युनिट कार उत्पादन भएको थियो । जबकी दोस्रो धेरै कार उत्पादन हुने अमेरिकामा १ करोड ११ लाख ८९ हजार ९८५ युनिटमात्र कार उत्पादन भएको छ । तेस्रो स्थानमा रहेको जापानले ९६ लाख युनिट कार उत्पादन गर्दा जर्मनीले ५६ लाख र भारतले ४७ लाख युनिट कार उत्पादन गरेका थिए ।
सन् २०१७ बाट भारत पनि विश्वका ५ ठूला कार निर्माता कम्पनीमा समावेश भएको छ ।