११ करोड लागतमा यस्तो बन्दै छ मुग्लिन–पोखरा जोड्ने आर्कषक पुल

काठमाडौं । नेपालमै सबैभन्दा धेरै पर्यटकले यात्रा गर्ने पुल मध्येमा पर्ने मुग्लिन–पोखरा जोड्ने नयाँ पुल (त्रिशुली नदीमा) निर्माण तिब्र गतिमा अगाडि बढेको छ । 

 हाल सन्चालनमा रहेको तनहुँ र चितवन जोड्ने  सिंगल लेनको पुल जीर्ण बन्दै गए पछि त्यसको ठाउँमा प्रयोगमा ल्याउने गरी सडक विभाग अन्तर्गत पुल महाशाखाले नयाँ प्रविधिको आर्क ब्रिज निर्माण गरिरहेको छ । 

झण्डै ११ करोड लागतमा निर्माण थालिएको चिनियाँ प्रविधिको पुलको मुख्य भाग एक सय २० मिटर लामो हुनेछ । पुलको दुबै छेउमा २०/२० मिटर भाग थपिनेछ । 

हाल सञ्चालनमा रहेको पुलले एक पटकमा दोहोरो सवारी आवतजावत गर्न नसक्ने भएकाले पालैपालो सञ्चालन गर्नुपर्ने अवस्था छ । तर अब बन्ने पुलमा भने निर्वाधरुपमा दोहोरो यातायात सञ्चालन गर्न सकिने छ ।

साबिकको पुल हल्लने तथा विभिन्न भाग भत्किएर खाडलहरु बनेका छन् जसले पुलको प्रयोग जटिल बन्दै गएको छ ।  यस अघि समय समयमा पुलको मर्मत गरिएपनि समस्या जस्ताको तेस्तै रहँदै आएको छ  । 

आगामी नयाँ बर्षसम्ममा सकिने गरी काम भइरहेको निर्माता कम्पनीले जानकारी दिएको छ । निर्माण पश्चात पुल आर्कषक देखिनुका साथै सवारी आवागमनमा समेत सहज हुने छ ।


Back_to_top