आगामी वर्ष नेपाली अटोमोवाइल क्षेत्रमा हुन सक्ने तीन घटना

काठमाडौं । नेपाली अटोमोवाइल क्षेत्र २०२४ ठिकठाकै भयो । ईभीको बिक्री निरन्तर बढ्यो । पेट्रोल गाडी बिक्री गर्ने दर्जनौ डिलरहरु बन्दको अवस्थामा पुगे । मोटरसाइकल बिक्रीमा आएको उत्साहले धेरै ब्यवसायी उत्साहित भए ।

इतिहासमै पहिलो पटक धेरै नयाँ ब्राण्ड नेपाली बजारमा प्रबेश गरे । चीनबाट आयात हुने विद्युतीय साधनकै कारण अटोमोवाइल बजारमा नयाँ नयाँ इभेन्टहरु बने । नयाँ कार मोडलको बढ्दो आयातले ईभी किन्नेहरुले छनोट धेरै पाए ।

पेट्रोल इन्जिनबाट चल्ने गाडीको आयात घट्दो क्रममै देखियो । चाडपर्वको समयमा भने केही मात्रामा पेट्रोल कारको बिक्री बढ्यो । त्यसबाहेक ईभीसँगको प्रतिस्पर्धामा पेट्रोल र डिजेलबाट चल्ने कारले प्रतिस्पर्धा नै गर्न सकेनन् । यस्तोमा सन् २०२५ मा नेपाली अटोमोवाइल बजारमा हुन सक्ने केही महत्वपूर्ण कुरा हामीले यहाँ उल्लेख गरेका छन् ।

चीनबाट केही नयाँ आउने र केही ब्राण्ड बन्द हुने

चीनबाट आयात हुने ब्राण्डको संख्या अब बिस्तारै कम हुँदै जाने देखिन्छ । नयाँ आउने ब्राण्ड कमसँगै पुराना गाडी बिक्री गर्न नसक्ने ब्राण्डहरु बन्द हुनेछन् । अहिले उत्कृष्ट पर्फमेन्स नभएका ब्राण्ड बन्द हुने अवस्थामा छन् । ठ्याक्कै अहिल्यै नाम लिएरै बन्दको घोषणा गर्न नसकिएपनि ४/५ ब्राण्डले आफ्नो ब्यवसाय बन्द गर्नेछन् ।

भारतीय उत्पादनको बिक्री बढ्ने

सन् २०२३ र २०२४ मा निरन्तर चिनियाँ कारहरुले आफ्नो बजार हिस्सा बढाए । अब २०२५ बाट भारतीय उत्पादनले बजार हिस्सा बढाउने देखिन्छ । विशेषगरी हुन्डाई, महिन्द्रा र सुजुकीले ल्याउने नयाँ विद्युतीय कारसँगै भारतमा उत्पादन हुने कारको बजार हिस्सा बढ्ने अनुमान गर्न सकिन्छ ।

चीनबाट पनि थप नयाँ मोडलहरु नेपाली बजारमा आउने छन् । त्यसले बजारमा प्रतिस्पर्धा थप कडा हुने अनुमान गरिएको छ ।

मूल्यमा थप उतार चढाव

पेट्रोलियम पदार्थबाट चल्ने कारहरु मूल्यको हिसाबले महंगो छन् । त्यसैले यस्ता कारमा मूल्य धेरै तलमाथि हुँदैन । तर, ईभीमा सरकारले करका दर चलाउने र उत्पादकले पनि मूल्य थपघट गर्ने भएकोले बजार मूल्यमा उतार चढाव देखिनेछ ।

चीनबाट आउने गाडीको मूल्य निरन्तर घट्ने कारण बजारमा प्रतिस्पर्धी हुने र भारत लगायतका अन्य देशबाट आयात हुने ईभीको मूल्य कम मात्रमा घट्ने आँकलन गर्न सकिन्छ ।


Back_to_top