चर्चित कार निर्माताहरूले हजारौं कामदार हटाउँदै

काठमाडौं । विश्वभर आफ्नो उत्पादनको बलमा स्थापित अटोमोवाइल कम्पनीहरुले बिक्रीमा आएको कमीसँगै कामदार हटाउने निर्णय लिन थालेका छन् । जापानी ब्राण्ड निसानदेखि जर्मन ब्राण्ड फक्सवागेनसम्मले कामदार कटौतीको निर्णय गरेका हुन् ।

जापानी ब्राण्ड निसानले सबैभन्दा धेरै कामदार हटाउने निर्णय लिएको छ । कम्पनीले विश्वभर रहेको आफ्नो नेटवर्कबाट ९ हजार कर्मचारलाई विदा गर्ने निर्णय लिएको हो । कम्पनीले घट्दो बिक्री र नाफालाई मध्येनजर गर्दै कामदार कटौती गर्दै खर्च कम गर्ने रणनीति लिएको जनाएको छ ।

यूरोपियन ब्राण्ड स्टेलान्टीसले तत्काल १ हजार १०० कामदारा कटौती गर्ने निर्णय लिएको छ । उसले पनि बिक्रीमा आएको उतारचढावलाई मध्यनजर गर्दै कामदार कटौती गर्न लागेको हो ।

जर्मन ब्राण्ड भीडब्लूले पनि जुन २०२५ बाट कामदार कटौती गर्ने निर्णय लिएको छ । तर, उसले कति संख्यामा कामदार हटाउने भन्ने विषयमा कुनै जानकारी दिएको छैन । फक्सवागेनले पनि चीनमा बिक्री गुमाउँदा आफ्नो दोस्रो स्थान बचाउन हम्मेहम्मे परिरहेको छ ।

कार निर्माताले मात्रै होइन पार्टस् निर्माताले पनि कामदार हटाउन थालेका छन् । यूरोपकै सबैभन्दा ठूलो पार्टस् उत्पादक मध्येको एक ‘सेफ्लर एजी’ नामक कम्पनीले यूरोपभरबाट ४ हजार ७०० कर्मचारी हटाउने निर्णय लिएको छ । यो कम्पनी पनि जर्मन हो । यसको सहकार्य फक्सवागेनसँग थियो ।

समग्रमा सन् २०२५ को अन्तिमसम्ममा अटोमोवाइल क्षेत्रमा १ लाख ४० हजार दक्ष कर्मचारीहरुले आफ्नो रोजगारी गुमाउने सर्वेहरुले देखाएका छन् ।


Back_to_top