काठमाडौं । भारतीय बजारमा टोयोटा बलियो बन्दै गएको छ । विश्वकै तिब्र विस्तार भइरहेको मध्ये एक भारतीय अटोमोवाइल बजारमा टोयोटाले पछिल्ला महिना निरन्तर बिक्री बढाउन सफल भएको हो ।
भारतकै सबैभन्दा ठूलो कार उत्पादक सुजुकीसँग हात मिलाएको टोयोटाको बिक्री बढ्नुमा दुई कम्पनीको संयुक्त मोडलको पनि हात बलियो देखिन्छ । टोयोटाले सुजुकीसँग सहकार्य गरेर ल्याएको हाइराइडर, ग्लान्जा र तेसर जस्ता मोडलको बिक्री राम्रो रहेको छ ।
अक्टोबर २०२४ मा टोयोटाले २८ हजार १३८ युनिट कार भारतमा बिक्री गरेको छ । जुन अघिल्लो वर्षको अक्टोबरको तुलनामा ३७ प्रतिशतले बढी हो । कम्पनीले २०२३ अक्टोबरमा २० हजार ५४२ युनिट कार बिक्री गरेको थियो ।
भारतमा सर्वाधिक सफल टोयोटा इनोभा अक्टोबरमा मात्रै ११ हजार ७ यूनिट बिक्री भएको छ । कम्पनीले हाइराइडर एसयूभी ५ हजार ४४९ युनिट बिक्री गर्दा ग्लान्जा ४ हजार २७३ युनिट बिक्री गर्न सफल भएको हो ।
अर्को मस्कुलर एसयूभी फर्चुनर ३ हजार ६८४ युनिट बिक्री गर्दा तेसर मोडलको बिक्री ३ हजार ९२ यूनिट भएको छ । हाइलक्स, क्याम्री जस्ता मोडल थोरै बिक्री भएका छन् ।
कुनै समय नेपालमा वार्षिक एक हजार यूनिटभन्दा धेरै गाडी बिक्री गर्ने टोयोटा अहिले केही कमजोर बनेको छ । विशेषगरी साना प्रोडक्टको कमी झेलिरहेको यूनाइटेड ट्रेडर्स सिण्डिकेटले ठूला गाडी महंगो हुँदा सोचे अनुसार बिक्री बढाउन सकेको छैन ।
हाइब्रिड मोडलमा निकै बलियो टोयोटाले सरकारी नीतिको कारण पनि नेपालमा बिक्री बढाउन सकेको छैन । ईभीमा ठूलो छुट प्राप्त भएपनि हाइब्रिडमा दिइएको छुट हटाइएको कारण कर धेरै लाग्दा टोयोटाका एसयूभीहरु महंगा बनेका हुन् ।


