काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनामा १ हजार ३२३ युनिट पेट्रोलियम पदार्थबाट चल्ने कार आयात भएको छ । बढ्दो विद्युतीय कारको प्रयोगसँगै खुम्चँदै गएको पेट्रोल कारको बजारलाई हुन्डाईले लिड गरिरहेको छ ।
चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा हुन्डाईले नयाँ क्रेटा ३०० युनिट आयात गरेको भन्सार विभागको तथ्यांकमा देखिन्छ । कम्पनीले साउनमा ४७, भदौमा १०१ र असोजमा १५२ युनिट क्रेटा आयात गरेको छ । साथै, नेपालमै एसेम्बल गर्न लक्ष्मी मोटर्सले सीकेडी क्रेटा ४ युनिट आयात गरेको देखिन्छ ।
हुन्डाईले साउनमा ५ युनिट तयारी भेन्यू ल्याए पनि त्यो बाहेक नेपालमै १३५ युनिट भेन्यू एसेम्बल गरेको छ । ग्राण्ड आई १० नियोसको आयात १२२ युनिट हुँदा एक्सटर एसयूभी २९ युनिट, टुसान ३ युनिट आयात गरेको हो । लक्ष्मी इन्टरकन्टिनेन्टलले तीन महिनामा सबै मोडल मिलएर ५९८ युनिट आयात गरेको छ ।
तीन महिनाको आयात तथ्यांक अनुसार हुन्डाईले पेट्रोल कार बजारमा ४५.२० प्रतिशत बजार हिस्सा ओगटेको छ ।
दोस्रो धेरै पेट्रोलियम पदार्थबाट चल्ने कार मारुती सुजुकीको आयात भएको देखिन्छ । सीजी मोटोकर्पले सबैभन्दा धेरै ब्रेजा एसयूभी आयात गरेको छ । कम्पनीले साउनमा ३३, भदौमा ५६ र असोजमा १२९ युनिट गरी कुल २१८ युनिट ब्रेजा आयात गरेको हो ।
ब्रेजापछि फ्रङ्क्स ४१ युनिट, स्वीफ्ट २९ युनिट, जिम्नी १९ युनिट, सेलेरियो १६ युनिट, वागेनआर १२ युनिट, अल्टो ७ युनिट र ग्राण्ड भिटारा ५ युनिट आयात गरेको देखिन्छ । कम्पनीले चालु आर्थिक वर्षको तीन महिनामा कुल ३४७ युनिट कार आयात गरेको छ । जुन कुल पेट्रोल कार आयातको २६.२२ प्रतिशत हो ।
कार सेग्मेन्टमा तेस्रो धेरै आयात कियाले गरेको छ । कियाले सोनेट सब फोर मिटर एसयूभी सबैभन्दा धेरै ल्याएको छ । कन्टिनेन्टल ट्रेडिङले साउनमा २०, भदौमा ४२ र असोजमा ५६ युनिट गरेर कुल ११८ युनिट सोनेट ल्याएको हो । सोनेट बाहेक सेल्टोस ५५ युनिट, कारेन्स ५ युनिट, स्पोर्टेज २ युनिट र सोरान्टो १ युनिट गरी कुल १८१ युनिट आयात गरेको देखिन्छ । कियाले कुल आयातमा १३.६८ प्रतिशत हिस्सा ओगटेको छ ।
महिन्द्राले स्कर्पियो क्लासिक र एन गरेर ९८ युनिट आयात गर्दा एक्सयूभी ७०० जम्मा ४ युनिट र थ्रीएक्सओ २ युनिट मात्रै आयात गरेको छ । कम्पनीले कार सेग्मेन्टमा १०४ युनिट आयात गरेको हो । जुन कुल आयातको ७.८६ प्रतिशत हुन्छ । साथै, महिन्द्राले पीकअपको आयात भने १७४ युनिट गरेको छ ।
यी बाहेक अन्य कुनै पनि ब्राण्डले तीन अंक अर्थात् १०० युनिट बढी आयात गर्न सकेका छैनन् । टोयोटाले हाइलक्स र हायाससहित ६६ युनिट, स्कोडाले १४ युनिट, निसानले ११ युनिट, फोर्डले ५ युनिट एभरेष्ट आयात गर्दा टाटाले १ युनिट सफारी, माज्दाले १ युनिट सीएक्स-९ आयात गरेको छ ।
जापानी ब्राण्ड होन्डाले १० युनिट एलिभेट एसयूभी ल्याउँदा जीएसीले ४ युनिट पेट्रोल कार ल्याएको छ । प्रिमियम ब्राण्ड बीएमडब्लूले ३ युनिट एसयूभी ल्याउँदा एमजीले पनि पेट्रोल एसयूभी ३ युनिट नै आयात गरेको देखिन्छ ।


