काठमाडौं । अहिले घन्टौ लगाएर गाडी चार्ज गर्नु पर्ने बाध्यता रहेको छ । यदि, ९० सेकेन्डमै गाडी फुल चार्ज भयो भने यसले न्यू इनर्जी अटोमोवाइल क्षेत्रमा कस्तो प्रभाव पर्ला ?
हो, अहिले केबल ९० सेकेन्डमा फुल चार्ज गर्न सकिने सिलिकन एनोड ब्याट्रीको परीक्षण चलिरहेको छ । ताइवानी कम्पनी मोलीसेलले परीक्षण गरिरहेको उक्त ब्याट्रीको ब्यवसायीक उत्पादन हुने हो भने विश्व अटोमोवाइलमा नयाँ क्रान्ति ल्याउने छ । कम्पनीका अनुसार सिलिकन एनोड प्रयोग भएको ब्याट्रीमा २० प्रतिशतले इनर्जी वृद्धि हुनेछ ।
हाई सिलिकल एनोडको प्रयोगले लिक्वीड इलेक्ट्रोलाइटलाई लामो समय जिवित राख्ने विश्वास गरिएको छ । अहिले प्रयोगमा भईरहेको लिथियम आयोन ब्याट्रीको एनोड ग्राफाइटले बनेको हुन्छ । नयाँ प्रविधि एनोडमा सिलिकन मिक्सको प्रयोेग गरेर ब्याट्रीको क्यारेक्टरलाई परिवर्तन गर्न सकिन्छ ।
हाई सिलिकन एनोडको मुख्य फाइदा भनेको यसले चार्ज र डिस्चार्ज हाई पावरमा गराउने छ । जसको फलस्वरुप सानो साइजको ब्याट्री प्याकले पनि उच्च पावर दिनेछ ।
मोलीसेलले परीक्षण गरेको एनोड ब्याट्री मोडल ‘क्लासीक २१ हजार ७०० सिलिण्डर’ हो । कम्पनीको एक्स सिरिजको नयाँ सेलमा शून्यबाट १०० प्रतिशत चार्ज मात्र ९० सेकेण्डमा पुरा हुनेछ । अहिले परीक्षण गरिएको ‘एक्स सिरिज’को सेल २.५ एम्पीयर आवर र ५.२ एम्पीयर आवरका छन् । सिंगल सेल निकै कम समयमा रिचार्ज गर्न सकिएता पनि ब्याट्रीको पुरै प्याक भने ८ देखि १० मिनेट भित्र फुल चार्ज हुने अनुमान गरिएको छ ।
जर्मनीको लग्जरी कार कम्पनी मर्सिडिजले आफ्नो आगामी इलेक्ट्रीक एसयूभीमा सिलिकन ब्याट्रीको प्रयोग गर्ने घोषणा गरिसकेको छ । सन् २०२६ मा लन्च हुने मर्सिडिजको ईभीमा पहिलो पटक सिलिकन ब्याट्री रहनेछ ।
सिलिकन एनोड टेक्नोलोजी सोलिड स्टेट ब्याटीभन्दा पहिला प्रयोगमा आइसक्ने अनुमान गरिएको छ । यसको मूख्य फाइदा भनेकै चार्जमा लाग्ने समय निकै कम हुनु हो । यो प्रविधिले ब्याट्रीले दिने रेन्जमा ध्यान दिएको छैन ।
ईभी चालकको मुख्य समस्या फास्ट चार्जिङ तथा लामो रेन्जलाई नयाँ ब्याट्री प्रविधिले छिट्टै समाधान गर्दैछ । धेरै कम्पनीहरुले सोलिड स्टेट ब्याट्रीको आर एण्ड डीमा धेरै लगानी गरिरहेका छन् ।


