काठमाडौं । हिरो स्प्लेडरको लागि इलेक्ट्रीक किट बनाएर चर्चा कमाएको कम्पनीले बजार एभेन्जरको लागिसमेत इलेक्ट्रीक किटको निर्माण गरेको छ । कम्पनीले बजाज एभेन्जर २२० लाई इलेक्ट्रीक मोटरसाइकमा रुपान्तरण गर्न सकिने किट निर्माण गरेको हो ।
इलेक्ट्रीक कम्पनी ‘गोगो–१’ ले केही समय अगाडि मारुती डिजाएर र स्प्लेन्डरलाई इलेक्ट्रीकमा परिर्वतन गर्ने इभी किट भारतीय बजारमा ल्याएको थियो । यसअघि यी दुई कार तथा मोटरसाइकललाई पूर्ण इलेक्ट्रीकमा रुपान्तरण गरेको कम्पनीले बजाज एभेन्जरलाई हाइव्रिड मोटरसाइकलको रुपमा विकास गरेको हो । यसमा चालकले इलेक्ट्रीक वा पेट्रोल दुबै मोड छनोट गरेर चलाउन सक्नेछन् ।
गोगो–१ ले यो हाइव्रिड किटलाई अनलाइन मार्फत विक्री गर्नेछ । यसको मूल्य २७ हजार ७६० भारतीय रुपैयाँ निर्धारण गरेको छ । यो किटमा २ किलोवाटको १७ इन्च ब्रसलेस हव मोटर रहेको छ । यसमा ७२ भोल्ट, ३५एम्पीयर लिथियम आयोन ब्याट्री प्याक उपलब्ध छ । यसमा प्रयोग भएको मोटरलाई कम्पनीले मोटरसाइकलको अगाडि टायरमा जडान गरेको छ ।
इलेक्ट्रीक मोडमा एभेन्जर २२० ले ६० किलोमिटर प्रतिघन्टाको टप स्पीड पकड्न सक्छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसलाई ५० किलोमिटर गुडाउन सकिन्छ ।

